परिचय
Home » परिचय
आदिइत्यादि बारेमा
‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’ भन्ने उच्च मूल नाराका साथ स्थापित ‘आदिइत्यादि’ नेपाल सरकारद्वारा विधिवत् मान्यता प्राप्त एक अग्रणी गैरसरकारी संस्था हो । यसको स्थापना नेपाली भाषा, कला, साहित्य, सङ्गीत, नाटक, रङ्गमञ्च, र पर्यटन जस्ता राष्ट्रका आधारस्तम्भहरूको उत्थान र प्रवर्द्धन गर्ने उदात्त लक्ष्य लिएर भएको छ ।
आदिइत्यादिले विशेषतः नेपाली मौलिक नाटकको सिर्जना, प्रस्तुति र विकास लाई आफ्नो कर्मको केन्द्रबिन्दु बनाएको छ । नाटक र रङ्गमञ्च केवल मनोरञ्जनका क्षणिक माध्यम मात्र होइनन्, बरु यिनीहरू भाषा, संस्कृति, लोकपरम्परा तथा राष्ट्रिय चेतनाको संवर्द्धन गर्न सक्ने अत्यन्तै शक्तिशाली माध्यमहरू हुन् भन्ने मन्यता हामीले लिएका छौँ ।
संस्थाको यस यात्रामा नेपालका ख्यातिप्राप्त प्राज्ञहरू, साहित्यकारहरू, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धाताहरू, कलाकारहरू, निर्देशकहरू, र सङ्गीतकारहरू लगायत विभिन्न क्षेत्रका बौद्धिक तथा सिर्जनशील व्यक्तित्वहरूको सक्रिय र अर्थपूर्ण सहभागिता रहेको छ ।
नाटक र रङ्गमञ्चको क्षेत्रमा आदिइत्यादिले राष्ट्रिय सीमा पार गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय उपस्थिति जनाइसकेको छ । यसले देश तथा विदेशमा आफ्ना उत्कृष्ट नाटकहरू सफलतापूर्वक मञ्चन गरी नेपाली कला र संस्कृतिको जीवन्त प्रतिनिधित्व गरेको छ । संस्थाले विशेषगरी सांस्कृतिक, यथार्थवादी तथा प्रयोगात्मक नाटकहरूको सिर्जना र प्रवर्द्धनमा काम गर्दै समाजका ज्वल्न्त मुद्दाहरूलाई रङ्गमञ्चको ऐनाबाट सशक्त रूपमा प्रस्तुत गर्दै आएको छ ।
रङ्गमञ्चका प्रस्तुतिहरूका अतिरिक्त, आदिइत्यादिले समसामयिक साहित्यिक, सांस्कृतिक, शैक्षिक, र पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठीहरू, कार्यशालाहरू र महोत्सवहरूको सफलतापूर्वक आयोजना गर्दै आइरहेको छ ।
हाम्रो उद्देश्य I हाम्रो दृष्टिकोण I हाम्रा लक्ष्यहरू
हाम्रो दृष्टिकोण
"हाम्रो कला र संस्कृति नै हाम्रो पहिचान हो। यसैलाई शक्ति बनाएर, नेपाली नाट्य परम्परामार्फत राष्ट्रिय पहिचानलाई मजबुत पार्ने अग्रणी मञ्च बन्नु नै हाम्रो लक्ष्य हो।"
हाम्रो उद्देश्य
"हामी रङ्गमञ्च, साहित्य, नृत्य र सङ्गीत मार्फत नेपाली मर्म र चेतनालाई जगाउँदै साँस्कृतिक पुनर्जागरणका लागि समर्पित छौँ।"
हाम्रा लक्ष्यहरू
"नेपाली नाटकको प्रवर्द्धन गर्नु, युवा पुस्तालाई प्रोत्साहित गर्नु र समाजमा सकारात्मक परिवर्तन स्थापित गर्नु नै हाम्रो मूल लक्ष्य हो।"