लमजुङ — गतवर्ष मञ्चन गरिएको ‘फड्के’ ले राम्रै प्रशंसा बटुलेको थियो । त्यसबाट हौसिएका निर्देशक पुरु लम्सालले यसपटक ‘पानीघट्ट’ देखाउने तयारीमा छन् ।

त्यसै पनि लमजुङमा निकै कम नाटक मञ्चन हुन्छन् । गएको माघ अन्तिम साता जिल्ला समन्वय समितिको सभाहलमा मञ्जरी नाट्य समूहले ‘फड्के’ मञ्चन गर्दा दर्शक ओइरिएका थिए । यसपटक दोस्रो प्रस्तुति मंसिर अन्तिम साता मञ्चन गर्ने गरी कलाकार तयारी गरिरहेका छन् ।
‘नाटक प्रस्तुत गर्ने हामी सबै लमजुङकै छौं,’ शनिबार बेसीसहरमा आयोजित पत्रकार भेटघाटमा लेखक/निर्देशक लम्सालले भने, ‘नाटकको प्रस्तुति हामी आफ्नै जिल्लामा पनि गर्न सक्छौं भने हाम्रो समूह लागिपरेको हो ।’ यसपटक नाटकमा संस्कृति, रेमिटयान्स र पुस्तान्तरणलाई देखाउन खोजिएको उनले बताए ।
‘ग्रामीण जीवन पानीघट्टले चलेको थियो । अहिले विस्थापित भए,’ उनले भने, ‘रेमिटयान्स भित्रिएसँगै आएका परिवर्तन र प्रवृत्ति यसपटक नाटकको विषय छ ।’ नाटकमा लोपोन्मुख ठाडोभाकासमेत प्रस्तुत गर्ने तयारी छ ।
‘हामी नाटकमा ठाडोभाका राख्छौं । भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) को निधनपछि यो संकटमा छ,’ उनले भने ।
आफूले एक दशकअघि लेखेको कथालाई नाटकमा रूपान्तरण गरी यसपटकको प्रस्तुतिमा राखेको जानकारी उनले दिए । समूहका अध्यक्ष केदार बोहोराका अनुसार नाटकमा १६ जना कलाकारले अभिनय गर्नेछन् ।
https://www.kantipurdaily.com/literature/2017/10/08/20171008084801.html