लम्सालको ‘पानीघट्ट’ कोलकातामा

नाटककार पुरु लम्सालले लेखन तथा निर्देशन गरेको नाटक ‘पानीघट्ट’ कोलकातामा शनिबार मञ्चन गरिएको छ । लमजुङको ग्रामीण क्षेत्रको विषयमा आधारित रहेर तयार पारिएको नाटकमा पानीघट्ट र ठाडोभाकालाई कलात्मक रूपमा समेटिएको छ । पानीघट्ट र ठाडोभाकाका बारेमा समेत यसले प्रशस्तै जानकारी दिन्छ । नाटक हेरिसकेपछि दर्शकले नेपाली मौलिक संस्कृति र अहिलेको सामाजिक अवस्थालाई यथार्थ ढंगले नाटकमा प्रस्तुत गरेको भेटेको बताएका छन् ।

कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तर्राष्ट्रिय नाटक उत्सवमा मञ्चन गरिएको यो नाटक हेर्न प्रवासी नेपाली तथा गैरनेपालीको बाक्लो उपस्थिति रहेको थियो । नाट्ययुद्धले आयोजना गरेको ‘चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्य उत्सव’ मा लम्सालको नाटक छनोटमा परेको थियो । ११ देखि १३ फागुनसम्म चलेको उत्सवमा नेपाली, हिन्दी, बंगालीसहित ११ नाटक मञ्चन गरिएका थिए । सवा एक घण्टाको नाटकमा वैदेशिक रोजगारी र त्यसपछि देखा परेका समस्या, बसाइँसराइँ तथा युवाको पलायनका विषयलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । लमजुङकी लीला गुरुङले परदेशमा आफ्नो संस्कृति देख्न पाउँदा गाउँमै पुगेको अनुभव गरेको बताइन् ।

कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नाटकले नेपाली संस्कृतिको यथार्थ परिवेशलाई चित्रण गरेको बताए । उनले भने, ‘नेपाली कला–संस्कृतिलाई संरक्षण गर्दै यसको प्रवद्र्धनमा महावाणिज्यदूतावास लागिपरेको छ ।’ नाटकका लेखक तथा निर्देशक लम्सालले मुलुकभित्रकै नाटकघरमा मात्रै नेपाली नाटक मञ्चन भइरहेका अवस्थामा प्रवासमा गएर पनि सांस्कृतिक तथा सामाजिक सचेतना जगाउनुपर्छ भन्ने मान्यता राखिएको बताए । उनले भने, ‘अघिल्लो पुस्ताको वास्तविकता र अहिलेको यथार्थलाई सम्मिश्रण गरी नाटक निर्माण गरिएको छ ।’
नाटकमा कलाकार टीकाराम घिमिरे, विष्णुभक्त अधिकारी, शान्ति श्रेष्ठ, केदार बोहोरा, नरमाया तामाङ, निर्मला परियार, रमिला अर्याल, हिमाल मजाकोटी, तीर्थ गुरुङ, विमला मिजार, सञ्जोग लामिछाने, आशिष परियार, भरत राना र बालकलाकार विप्लव बोहोराको अभिनयले गरेका थिए । साथै, उनीहरूलाई कोलकाताका कलाकार आशा बराल र नेहा धमलाले समेत सघाएका लम्सालले जानकारी दिए ।  कोलकाताको अन्तर्राष्ट्रिय नाटक उत्सवसम्म नाटकलाई लैजानका लागि प्राडा अशोक थापाले संयोजन गरेका थिए । नेपाली नाटकका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो संस्कृति र यथार्थ देखाउन कोलकातासम्म नाटक ल्याइएको थापाले बताए । लम्सालले ०६४ सालमा लेखेको यो नाटक लमजुङमा गत १८ देखि २० माघसम्म मञ्चन गरिएको थियो ।

http://www.souryadaily.com/2018/02/177070.html

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न