भूकम्प आएको बर्ष दिन भइसकेको छ । तर यसका असरहरू ताजा नै छन् । धेरैले ज्यान गुमाए । तिनका आफन्तमा हृदयमा लागेको घाउ बिसेक भइसकेको छैन । भूकम्पको असरमा परेर बाँचिरहेकाहरूको अवस्था त झनै बिजोग छ । यसैबेला भूकम्पीय समयको एउटा संवेदनालाई पक्रिएर लेखिएको नाटक ‘अमर मातृत्व’ सर्वनाम नाटकघरमा मञ्चन भइरहको छ ।
प्रा.डा. तारानिधि भट्टराईले भूकम्पमा देखिएको मातृत्वको अतुलनीय उदाहरणलाई नाटकमा खिपेका छन् । निर्देशन गरेका छन् पुरु लम्सालले । हुन त मातृत्वको वर्णनका लागि कुनै विशेष घटनाको उदाहरण नै आवश्यक छ भन्ने होइन । तर पनि यस्ता विशेष घटनाका बेलामा अझ विशेष बन्ने गरेको छ । त्यसैकारण भट्टराईले भूकम्पका बेला आफ्नो ज्यानको परवाह नगरी छोरालाई बचाउने आमाको कथा नाटकमा बुनेका छन् ।

विनोद मानन्धरले नाटकमा पहिलोपटक आफ्नो कलाक्षमता देखाएका छन् । त्यसैगरी आमाको भूमिकामा लूनिभा तुलाधार प्रभावशाली देखिएकी छन् । विष्णुभक्त फुयाँल र मिश्री थापाको परिपक्व अभिनयले नाटकलाई जीवन्त बनाएको छ । छोरीको भूमिकामा सरिता साहले आफूलाई अब्बल प्रमाणित गरेकी छिन् । अशोक थापा, सुवास प्याकुरेल र लक्ष्मणविक्रम बस्नेतको अभिनयले पनि नाटकलाई बलियो बनाएको छ । कलाकार भीष्म जोशी, रेशव अर्याल, नीमा वाइबा, विजय वाइबा, सन्तोष स्याङ्तान, राज भट्टराई र प्रिया रायमाझी पनि नाटकका इँट हुन् । लूनिभा तुलाधर र विनोद मानन्धरको स्टेज जोडी सुहाएको छ । उसैगरी विष्णुभक्त फुयाँल र मिश्री थापाको जोडी पनि जीवन्त देखिन्छ ।

पारिवारिक खुशी, भूकम्पको अनुभूति र भूकम्पपछिको त्रासदीलाई चित्रण गर्न निर्देशकले गरेको मिहिनेत प्रशंसनीय छ । मञ्च निर्माणले पनि त्यसलाई सहयोग गरेको छ । दृश्यको संवेदनशीलताले पनि दर्तशककाे मन छुन्छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेको नाटकमा अादिइत्यादि समूहका कलाकारहरुकाे अभिनय रहेकाे छ । नाटक बुधबारसम्म मञ्चन हुन्छ ।