लमजुङकाे कथामा ‘फड्के’ काे मञ्चन

लमजुङ  २ फागुन २०७३ ग्रामिण परिवेशलाई समेटेर तयार पारिएको नाटक ‘फड्के’ लाई सदरमुकाम बेसीशहरमा मञ्चन गरिएको छ । जिल्लामा गठित मञ्जरी नाट्य समूहले पहिलो पटक व्यवसायिक थिएटर नाटक मञ्चन गरेको हो ।
पूर्बी लमजुङको दोर्दी खोलालाई आधार बनाएर निर्माण गरिएको नाटक फड्केले दुर्गम गाउँको बास्तविक पिडा, स्थानिय कला, सस्कृति, परम्परा, भेषभुषा, अबोध गाउँलेहरुको बाध्यात्मक जिवनयापन अनि सामाजिक अवस्थालाई अभिनयमार्फत उजागर गरिएको छ । विकासका कुनैपनि पूर्बाधार नपुगेको एउटा गरिब गाउँमा उत्पादन भएका हस्तकलाका सामाग्री, फलामे औजार र अन्य हाते बुनाईका सामानलाई बजारमा पु¥याएर पैसासँग साटेर जिवन निर्बाह गर्नुपर्ने बाध्यतालाई नाटकमा उतारिएको छ ।
गाउँमा विकासका पुर्बाधारहरु नपुग्दा शिक्षामा हुन नसकेको विकास, युवाहरुमा बेरोजगारी समस्या र गाउँलेहरुको यथार्थ चित्रणलाई कथाबस्तुमा समावेश गरिएको छ । गाउँबाट शहरसम्म पुग्ने खोलामा एउटा झोलुंगे पूल नहुँदा गाउँलेले ‘फडके’ राखेर जीवनयापन गरिरहेको पीडा नाटकमा उतारिएको । गाउँ र शहर जोड्ने पूल नबन्दा शिक्षा,स्वास्थ्य, खानोपानी लगायतका विकासका अति आवश्यकीय सेवाको उपभोगबाट गाउँलेहरु बञ्चित हुनुपरेको र फड्केबाट लडेर बर्षेनी गाउँलेको मृत्यु भएको विषयलाई नाटकमा जस्ताको तस्तै उतारिएको छ ।
जिल्ला विकास समितिको हलमा रंगमञ्च बनाएर आइतबार मञ्चन गरिएको नाटक ‘फडके’ हेर्न जिल्लाबासीहरुको ओइरो नै लाग्यो । गर्भिणी अवस्थामा रहेकी पत्नी निर्मली र तीन छोरीलाई लुगाफाटा ल्याउने मनशायले साथीहरुसँग शहर पसेका धने भारी बोकेर आउँदै गर्दा फड्केबाट खसेर मृत्यु नै भएको कारुणिक दृश्यले दर्शकहरुको न मन थामियो न आँखामा आँशु । “साँच्चै नै गाउँमा अभाव नै अभाव छ ।” स्थानिय विकास अधिकारी शेखर पौडेलले भने, “अझै पनि कयौं जिल्लाका दुर्गम भेगमा बस्ने नागरिकहरुको यस्तै अवस्था छ ।”
शहरबाट आफ्ना बाले नयाँ लुगाफाटा ल्याउने ब्यग्र प्रतिक्षामा बसिरहेका परिवार धने खसेको खबर सुन्नेवित्तिकै भएको रुवावासीले मन थाम्न नसकिएको स्थानीय उद्योग बाणिज्य संघका रामकुमार श्रेष्ठ बताउँछन् । “नाटक विकटताभित्रको जीवनशैलीको प्रतिविम्ब बनेको रहेछ” उनले भने, “ पूरुष, प्रायः झट्ट भावुक हुँदैनन् । दुःख दर्दमा पनि प्राय आँशु झर्दैन । तर मेरो मनलाई पनि पगाल्ने जिवन्त अभिनयसहितको दृष्य फड्केले  म मात्रै होइन सबै दर्शकहरुलाई रुन बाध्य बनायो ।”
नाटकमा मञ्जरी नाट्य समूह लमजुङका कलाकार हुन् भने नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका छन् । “जिल्लाभित्रको एउटा दुर्गम गाउँको यथार्थ परिवेश र दुःखलाई राज्यसामु पु¥याउन सदरमुकाममै पहिलोपटक नाटक निर्माण गरेका हौं ।” मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोराले भने, “रंगमञ्चबाट हामी संस्कृति र विकासलाई जोड्छौं ।”

 

 

 

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न