कटुवालको ८३औँ जन्मदिन मनाइयाे

असार १९, २०७५ काठमाडौं :
सोमबार राजधानीस्थित सर्वनाम नाटक घरमा पत्रकार र दर्शक/श्रोताहरूको आगमनको प्रतीक्षामा थिए पुरु लम्साल। अलिअलि तनाव, अलिअलि खुसी उनको मुहारमा झल्कन्थ्यो। झरिलो मौसममा पनि दर्शकको बाक्लो उपस्थिति रहेकाले उनले मुसुक्क हाँस्दै भने, ‘आज हरिभक्त कटुवालको ८३औँ जन्मदिन हो। हरेक वर्ष आउने उनको जन्मजदिनमा हामीले तयार पारेको अनि हरिभक्त फ़र्किएनन् वृत्तचित्र देखाउने कार्यक्रम राख्ने गर्छौं।’ यो वृत्तचित्र कटुवालको जन्मदिनमा देखाइने गरेको बताउदै लम्साल थपे ,’ यो संग गरेर चौथो पटक भयो ।’

हरिभक्त कटुवाल नेपाली गीत र कविता लेखनका एक मूर्धन्य व्यक्ति हुन्। जब उनी बिते, उनका सिर्जनाहरूमा खोज अनुसन्धानहरू भएनन्। जति आए, ती सबै व्यक्तिगत सम्बन्ध र व्यक्तिगत खराब आचरणका पक्षबाट मात्र आए। उनको व्यक्तिगत आचरणले मात्र उनी बाँचेका होइनन्। उनी नेपाली साहित्यमा बाँच्नुको मुख्य कारण नै उनका सिर्जना हुन्। तर विडम्बना, उनको सिर्जनाको पक्षमा कसैले पनि आवाज उठाउने हिम्मत गरेनन्। कटुवाल आफ्ना सिर्जनाले आज पनि जीवित छन् भन्ने कुरा पछिल्लो पुस्ताले भुलिसकेको अवस्थालाई पुन: बिउँताउने उद्देश्य रहेको लम्साल बताउँछन्। ‘पुराना धेरै लेखकको सम्झनामा विभिन्न नाममा साहित्य प्रतिष्ठानहरू निर्माण भए पनि हरिभक्त जब २०३७ सालमा पुन: आसाम फर्किए, त्यस दिनदेखि उनको सम्झनामा कुनै कार्यक्रम र विचार विमर्श भएनन्। के हरिभक्तको नेपाली साहित्यमा कुनै योगदान थिएन त? उनले नेपाली साहित्यमा गरेको योगदानको कदर हामीले किन गर्न सकेनौँ?’, लम्सालले भने, ‘यी यावत कुराको खोज गरी सरल, सवल ढंगले वृत्तचित्रमा देखाइएको छ।’

कार्यक्रमको प्रमुख अतिथि बनेर मंचमा देखापरेकी कथाकार माया ठकुरीले कटुवाल नेपाली साहित्यका मूर्धन्य व्यक्ति रहेको बताइन। आफूलाई कथाकारको रूपमा उभ्याएको श्रेयसमेत उनले कटुवाललाई दिँदै कटुवाललाई सम्झिँदा आफ्नो बोली रोकिने तथा गर्व महसुस हुने बताइन्। नेपाली साहित्यको उन्नयन र प्रवर्द्धनमा कटुवालको भूमिका सराहनीय रहेको भन्दै उनले थपिन्, ‘किन आजसम्म उनको व्यक्तिगत आचारणको मात्र खिल्ली उडाइयो? के कटुवालले गरेको सुन्दर रचनाको विचार विमर्श गर्नुपर्दैन?’ ढिलै भए पनि कटुवालका सिर्जनाहरूमाथि सही र तथ्यपरक रूपमा उनका साहित्य रचना, जिन्दगीका उतारचढावहरूलाई वृत्तचित्रमा देखाइएकाले अबको पुस्ताले हरिभक्त कटुवाललाई बुझ्न सजिलो हुने तर्क राखिन् ठकुरीले।

कटुवालको जन्मदिनको अवसरमा केक काटेर सुरु गरिएको उक्त कार्यक्रममा सुजाता वर्मा र जोन खड्कीले कटुवालको शब्दमा रहेका दुई गीत क्रमश: पोखिएर घामको झुल्का र मलाई नसोध कहाँ दुख्छ घाउ गएका थिए। गीत सुनिरहेका हरेक दर्शक/श्रोताले कटुवालको सम्मानमा धेरै बेर ताली बजाइरहे।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न