बंगलादेशको महोत्सवमा नेपाली नाटक नौगेडी

जनक श्रेष्ठ

बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । आगामी ९ देखि १४ अक्टोबरसम्म अर्थात् २३ देखि २८ असोजसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुन लागेको नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुन लागेको हो ।

नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार २६ असोजमा नाटक मञ्चन हुने भएको छ ।

नौगेडीमा पवित्रा खड्का, सुशीलसिंह ठकुरी, जयराम तिमल्सिना, रीता थापा, आईपी आचार्य, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, भीष्म जोशी, केदार बोहोरा, जेबी डीसीलगायतको अभिनय रहनेछ । यी कलाकार अहिले नाटकको अभ्यासमा व्यस्त छन् ।

सो महोत्सवमा नेपालसँगै भारत, बंगलादेश, भुटानलगायत विभिन्न देशका नाटक मञ्चन हुनेछन् । डा. थापाका अनुसार केही महिनाअघि भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बंगलादेशको टिमको सिफारिसमा नेपाली नाट्य समूहलाई बंगलादेशमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको हो ।

नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको नाटकका लेखक तथा निर्देशक पुरू लम्सालले बताए । गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरू लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए ।

‘कोलकातामा नेपाली नाटक औधी रुचाइयो, त्यहाँका नेपालीले मात्रै नभएर नाटकमा सहभागीले समेत रुचाए, त्यसपछि हामी हौसियौं,’ लम्सालले भने, ‘पानीघट्टबाट प्रभावित बंगलादेशी टोलीले हाम्रो नाम महोत्सवका लागि सिफारिस गरेछ ।’

‘नौगेडी’ पहिलोपटक बंगलादेशमा प्रदर्शन हुँदै छ । बंगलादेशपछि स्वदेशका विभिन्न स्थानमा पनि नौगेडी मञ्चन गरिने लेखक निर्देशक लम्सालले बताए । उनका अनुसार ‘नौगेडी’ नुवाकोटको प्रशिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक हो । यसमा विद्यमान छुवाछूत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको छ ।

http://rajdhanidaily.com/126921/

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न