बंगलादेशमा नौगेडी मञ्चन

नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटकले भाषा नबुझ्नेको समेत मन जित्यो ।

 

उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नौगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले बताए । दर्शकले हरेक दृश्यमा ताली बजाएका थिए ।

नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यसवरिपरिको जनजीवनलाई नाटकमा समावेश गरिएको छ । मेलामा गएमा सन्तान नभएकाको सन्तान प्राप्त हुने, प्रेमीहरूको प्रेम सफल हुने, अविवाहितले असल जीवनसाथी पाउने जनविश्वासलाई आधार बनाएर पुरु लम्सालले नाटक लेखेका हुन् । नाटक निर्देशन पनि लम्सालले नै गरेका छन् । लम्सालका अनुसार नाटकमा मेलासँगै जातीय छुवाछुत र बेचिएका महिलाको कथा र व्यथालाई उतारिएको छ ।

आदिइत्यादि समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’मा जितेन्द्रसिंह ठकुरी, भीष्मराज जोशी, रीता थापा, जेबी डिसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, केदार बोहरा, मञ्जु गिरीलगायतले अभिनय गरेका थिए ।

आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार नाटकमा रहेका मुख्य विषयवस्तुसँगै लोपोन्मुख झाँक्री नृत्य, काँठे गीतलाई दर्शकले मन पराए ।

अक्टोबर ९ देखि १६ तारिखसम्म सञ्चालन भइरहेको पहिलो भूमिज अन्तर्राष्ट्रिय नाटक महोत्सव सन २०१८ मा बंगलादेशबाहेक नेपाल र भारतका नाटक प्रदर्शन गरिएको आयोजक भूमिज थिएटरका अध्यक्ष सोरकार हैदरले बताए ।

महोत्सवको अवसरमा चित्रकला शिविर र प्रतियोगिता, नाट्य कार्यशाला, साहित्य सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको थियो । बंगलादेशका सांसद नाजमुल हक प्रधानले नेपाल गएको वेला नेपाली संस्कृति देखेको र बंगलादेशमै नेपाली संस्कृति देख्दा खुसी लागेको बताएका थिए ।

http://www.nayapatrikadaily.com/2018/10/14/105319/

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन