काठमाडौं, २९ असाेज —
नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ ।
नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ ।
नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन ।
गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका च्यान्टेलाई सन्तानको चाहना हुन्छ ।
गाउँघरमै छुवाछुतको समस्या भोग्दै आएका च्यान्टे पल्लोगाउँ लुगा सिलाउन गएका बेला मनमाया गाउँकै पसलेले सन्तानको आश देखाएपछि आफ्नो शरीर सुम्पिन बाध्य हुन्छिन् । पत्नी दुई जिउकी भएको खबर थाहा पाएपछि च्यान्टेमा खुसीको सीमा रहँदैन । उनले पत्नीका लागि ‘नौगेडी’ लिएर आएको हुन्छ । भाले काटेर खुवाउने भन्दै च्यान्टे घरबाहिर निस्कँदा भूकम्प गएपछि गर्भवती मनमाया गम्भीर घाइते हुन्छिन् । अन्तत: मनमायाले संसार छाड्छिन् । सन्तानको मुख हेर्ने र पत्नीलाई ‘नौगेडी’ लगाइदिने च्यान्टेको सपना अँधुरो रहन्छ ।

करिब १ घण्टा १० मिनेटको नाटक सकिँदै गर्दा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ एक प्रकारको सन्नाटा छायो । नेपाली भाषा र लवज नबुझे पनि कथाको सार र कलाकारको बेजोड प्रस्तुतिका कारण केही बंगालीले आँसु चुवाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन नेपालीलाई सञ्चारमाध्यमबाट देखेसुनेका उनीहरुले नाटक ‘नौगेडी’ मा पनि त्यही अवस्था देखे ।
‘नौगेडी’ का लेखक तथा निर्देशक पुरु लम्साल नेपालीको कथामा बंगालीको आँसु देखेपछि भावुक बने । ‘विशुद्ध नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटकले भाषा र शब्द नबुझ्नेका आँखा रसाउँछन् भनेर कल्पना पनि गरेको थिएन’ उनले भने ।
