नुवाकाेटकाे नाैगेडी बंगलादेशमा

October 5, 2018

बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ ।

आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार असोज २६ गते अर्थात अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने समय तालिका आयोजकले दिएको छ । नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका छन् ।

उनका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले जनाए अनुसार महोत्सवमा नेपालसंगै भारत, बंगलादेश, भुटान लगायत बिभिन्न देशका नाटक मञ्चन हुनेछन् । केही महिनाअघि भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागि बंगलादेशका टीमको सिफारिसमा नेपाली नाट्य समूहलाई बंगलादेशमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा. थापाले बताए ।

उनका अनुसार गत फागुनमा कोलकातामा आयोजित महोत्सवमा आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए । ‘कोलकातामा नेपाली नाटक औधी रुचाइयो । त्यहाँका नेपालीले मात्रै नभएर नाटकमा सहभागिले समेत रुचाए । त्यसपछि हामी हौसियौं’ उनले भने, ‘पानीघट्टबाट प्रभावित बंगलादेशी टोलीले हाम्रो नाम महोत्सवका लागि सिफारिस गरेछ ।  आयोजकले हामीलाई पानीघट्ट अथवा त्यस्तै सांस्कृतिक नाटक लिएर महोत्सवमा सहभागी हुन आग्रह ग-यो । नयाँ नाटक नै गरौं भनेर नौगेडीको तयारीमा लाग्यौं ।’

‘पानीघट्ट’ नेपालका आधादर्जन बढी ठाउँमा मञ्चन भइसकेको उनले बताए । उक्त नाटक नेपालमा प्रदर्शनपछि कोलकता लगिएको र त्यसपछि पनि पुनः नेपालका सहरमा प्रस्तुत गरिएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले बताए ।

निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ पहिलोपटक बंगलादेशमा प्रदर्शन हुँदैछ । त्यसपछि स्वदेशमा पनि मञ्चन गराइने उनले बताए ।

निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ नुवाकोटको प्रशिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक हो । यसले विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको उनले बताए ।

नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, जयराम तिमल्सिना, रीता थापा, आइपी आचार्य, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, भीष्म जोशी, केदार बोहोरा लगायतले अभिनय गरेका छन् ।

http://nepalichaso.com/%E0%A4%AC%E0%A4%82%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2/

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न