फाल्गुन २९, २०७५
सुर्खेत — च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो ।
५ दिनका लागि ऊ अर्को गाउँमा लुगा सिलाउन गएको हुन्छ । उसले गाउँ फर्किएको दिनमै थाहा पाउँछ, मनमाया गर्भवती भएको कुरा । मनमाया गर्भवती भएसँगै परिवारमा सुखका दिन सुरु हुन्छन्, च्यान्टेले मनमायाको खुब ख्याल गर्न थाल्छ । यसैक्रममा भुइँचालो आउँछ, घर भत्किएर मनमायाको मृत्यु हुन्छ । उनको मृत्युसँगै च्यान्टेले दुःखले कमाएर बनाएको नौगेडी मनमायालाई दिने सपनासमेत अधुरै रहन्छ ।

आदिइत्यादि समूह काठमाडाैँ र मञ्जरी नाट्य समूह लमजुङका कलाकारहरूले यही वियोगात्मक कथा आधारित नाटक ‘नौगेडी’ पस्के, सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सवमा । मंगलबार मञ्चन गरिएको नाटकमा छुवाछुत, मानव बेचबिखन, बेरोजगारी, राजनीतिक विषय समेटिएको नाटकको निर्देशक थिए, पुरु लम्सालले । नाटकमा जितेन्द्रसिंह ठकुरी, रिता थापा, इन्द्र आचार्य, मञ्जु गिरी, निर्मला परियार, गंगा नेपाली, केदारबहादुर बोहरालगायत १२ कलाकारको अभिनय छ । मनछुने कथा र कलाकारको मौलिक अभिनयसहितको नाटकले दर्शकमा छुट्टै छाप छोड्न सफल भएको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताए । ‘नाटकमा कथा मात्र राम्रो भएर हुँदैन, अभिनय पनि जीवन्त हुन जरुरी छ,’ सभामुख शाहीले भने, ‘सफल नाटकको सामथ्र्य नौगेडीमा पाइयो । समाजका घटना–परिघटनालाई नाटकले कलात्मक ढंगले पस्किएको छ ।’
राष्ट्रियसभा सदस्य खेम नेपालीले समाजमा रहेका कुरीति र कुसंस्कार हटाएर समृद्ध नेपालको निर्माणमा एकजुट हुन नाटकले सन्देश दिएको बताए । उनले रूपान्तरण र समाज निर्माणका लागि नाटकले युवालाई प्रेरणा प्रदान गरेको जनाए ।
[:]