‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

गोपीकृष्ण ढुंगाना
कला/साहित्य
०४ असोज २०७६

काठमाडौं : ‘ए बुढो यसपाली त बनाइदेऊ है।’ ‘के ?’ ‘नौगेडी…।’ ‘हुँदैन, सक्दिनँ म।’ ‘सुनै सुनले ढाक्देउ त भनेको होइन नि, जाबो एउटा नौगेडी त भन्या हुँ नि।’ ‘घरको छाना हेर त, पानी परेपछि कर्कलाको पात टिप्न दौडनुपर्छ।’

गरिब एक दम्पत्तिबीचको संवाद हो यो। नौगेडीको निहुँमा रातदिन झगडा परिरहन्छ। भागी विवाहपछि नौगेडीको रहर गरेकी मनमायाको रहर पूरा नहुँदा रातदिन झगडा परिरहन्छ।

त्यसैबेला आएकी छिमेकीले झगडा नगर्न सम्झाउँदा मनमायाले गुदी कुरो पोख्छिन्, ‘बिहान उठ्नेबित्तिकै नौगेडी, साँझ परेपछि बच्चा भनेर लोग्नेले टोकस गरिरहन्छन् तर दिदी नौगेडी बहाना हो, मलाई आमा बन्नु छ।’ बिहे गरेको वर्षौं बिते पनि सन्तान नहुँदाको पीडा र घरझगडाको यथार्थ बुझेपछि छिमेकी पनि छर्लंग हुन्छिन्। मनमायाको अभिनय गर्ने महिला पात्रले ‘मलाई आमा बन्नुछ’ भन्दा दर्शकले ‘मुटुमा गाँठो परेको’ प्रतिक्रिया दिए।

सर्वनाम थिएटरमा चलिरहेको नाटक ‘नौगेडी’ को एउटा दृष्य हो यो। पुरु लम्सालले लेखन र निर्देशन गरेको नाटकमा गरिबीको पराकाष्ठा प्रस्तुत गरिएको छ। आदिइत्यादी समूहको प्रस्तुति नौगेडीमा हराउँदै गएको विगतको गाउँले परिवेशलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ।

समाजका असल र खराब चरित्र भएका मानिसबाट यथार्थ बिम्ब प्रयोग गरिएको छ। आफ्नै बुबा र लोग्नेले मुम्बई पुर्‍याएपछि पनि संघर्ष गरेर स्वदेश फर्किएकी महिला, समाजका दुःखमा तन, मन र धन खर्चिए पनि निर्वाचनमा रकम नखर्चिने पात्र आदिमार्फत समाजको विकृति उदांग पारिएको छ।

एकातिर मनमायाको नौगेडी र सन्तानको इच्छासँग उनकै पतिच्यान्‍टे दमाईबीचको द्वन्द्व र अर्कोतिर च्यान्‍टेको रहर र गरिबीबीचको द्वन्द्वलाई चरमोत्कर्षमा पुर्‍याएर दर्शकलाई आफू बसेको ‘समाज’ बारे पुनर्विचार गर्न बाध्य बनाएको छ नौगेडीले।

चिया पसलमा पोर्ट (लुँडो) खेल्न तीनजना युवा भेला भएको ठाउँमा च्यान्‍टे पुग्छ। पैसाको बाजी खेल्ने भएपछि गोजी रित्तो भएको च्यान्‍टेले खेल्ने मन मार्छ। ‘ल च्यान्‍टेलाई आज उधारो’, एउटाले भन्छ।च्यान्‍टे मख्ख पर्छ तर अर्कोले फेरि भन्छ, ‘उधारो हो भने ३४ गते खेलौंला।’ कखरासम्म नचिनेकोच्यान्‍टे मख्ख पर्छ उसले आफूलाई ‘पखालेको’ सम्म बुझ्दैन। गज्जबको हाँसो दर्शकमा समेत फैलन्छ।

त्यही मेसोमा चिया पसलमा आइपुगेको निर्वाचनमा हारेको एउटा नेता आइपुग्छ। ओरालो लागेको मृगलाई हरिणले पनि लखेट्छ भनेझैं उनलाई सबैले प्रत्येक बोलीमा वाण प्रहार गर्छन्। विचार र निष्ठाको राजनीति गरेका ती नेताले पीडा पोख्दै भन्छन्, ‘यो समाजका मान्छे दुई थाल भात, दुई चोक्टा मासु र दुई गिलास रक्सीमा बिके। जसले पैसाको खोलो बगायो उसैलाई जिताउँछन्।’ यो संवादले दर्शकलाई पनि देशको अवस्था, नागरिकको अपेक्षा र निर्वाचनको वास्तविकताप्रति सोच्न बाध्य बनाउँछ। त्यहाँच्यान्‍टे दमाईले चिया खाएको गिलास माझ्न खोज्दा ती नेताले पैसा तिरेपछि माझ्न पर्दैन, छुवाछुत हुनुहुँदैन भनेपछि चियापसलेसँग चर्काचर्की पर्छ। यसले पनि सत्य र यथार्थका पक्षमा अडिग हुनुपर्छ भन्ने सन्देश दिएको छ। हरुवा नेतालाई समाज बदल्न जीवन त्याग गर्ने पात्रको रुपमा उभ्याइएको छ।

सन्तान नभए पनि पैसाको अभावमा दलित दम्पत्ति अस्पतालसम्म पुग्न सक्दैनन्। चियापसलेले पतिका कारण सन्तान नभएको भन्दै फकाएर कामेच्छा पूरा गर्छ। मनमायाले गर्भ बोकेको थाहा पाएपछि पतिच्यान्‍टेको खुसीको सीमा हुँदैन। तर उनी भने रातदिन चिन्तामा रोएर बिताउँछिन्।च्यान्‍टे दशैंमा लुगा सिलाएर यसपटक भने धानचामलको साटो पैसा लिएर आउँछन्। त्यो पैसाले उनले पत्नी मनमायाको धोको पूरा गर्न नौगेडी किनेर लिएर घर आइपुग्छन्।

त्यसैबेला आएको भूकम्पले मनमायालाई उनीबाट चुँडेर लैजान्छ। गरिबीले मानिस कति सम्झौता गर्छन् र सपना कसरी चकनाचुर पार्न बाध्य हुन्छन् भन्ने मूल सन्देश दिइएको छ। भदौ २७ गतेदेखि सुरु भएको एक घण्टा १५ मिनेटको नौगेडी असोज १२ गतेसम्म प्रदर्शन हुनेछ।

नाटकमा आईपी आचार्य, सुशीलसिं ठकुरी, रीता थापा, अनामिका लामिछाने, भीष्मराज जोशी, दिवाकर घिमिरे, अस्मिता बयलकोटीलगायतको अभिनय छ। समाजको सामाजिक, आर्थिक र राजनीतिक प्रतिबिम्ब देखाउन यी पात्रको अभिनय जीवन्त छ।

http://annapurnapost.com/news/137500

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन