नौगेडीमा गरिबका व्यथा

आश्विन १, २०७६
कान्तिपुर संवाददाता

काठमाडौँ — नि:सन्तान दम्पती र गरिबीको नालीबेली उतारिएको नाटक ‘नौगेडी’ यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकले निम्न मध्यमवर्गीय पात्र, उनीहरूको मनोविज्ञान, सपना र आवश्यकताका सन्दर्भहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ ।

प्रेम पाउन भगाएरै विवाह बन्धनमा बाँधिएको दम्पतीबीच सन्तानलाभ नहुँदा कस्तो खालको अन्तर्द्वन्द्व पैदा हुन्छ भन्ने मूल कथामा नाटककारले अरू थुप्रै कथा जोडेका छन् । सन्तानसँगै नौगेडीप्रति श्रीमतीको तीव्र आकांक्षादेखि गरिबीको कथव्यथा र छुवाछुतको सन्दर्भसम्म । नुवाकोटको दुप्चेश्वर आसपासको परिवेश बताइएको नाटकले ग्रामीण भेकको चित्रलाई पनि प्रस्तुत गरेको छ । दुप्चेश्वर महादेव दर्शन, त्यहाँका मेलामा गाइने घाँसेगीत र दृश्यले नाटकमा ग्रामीण परिवेश र सामाजिक–सांस्कृतिक रंग प्रदान गर्छ ।

दुप्चेश्वर मेलामै भेटिएर दोहोरी गाउँदागाउँदै एक–अर्कालाई मन पराएर विवाह गरेका मनमाया र च्यान्टे नाटकको केन्द्रमा छन् । यो जोडीले नाटकमा नि:सन्तान दलित परिवारको प्रतिनिधित्व गर्छ । विवाह गरेको थुप्रै वर्ष बितिसक्दा पनि आमा बन्न नसकेकी मनमायाको पीडा नाटकमा छ । नि:सन्तान हुनुको कारण जसको भए पनि त्यसको वेदना भने महिलाले मात्रै खेप्नुपर्ने अवस्था मनमाया गुज्रिएकी छन् । बाटो हिँड्दा गाउँले महिलाबाट ‘बाँझी’ को आक्षेप उनैले खेप्नुपर्छ । पति च्यान्टेले चाहिँ ‘हुतिहारा’ र ‘नामर्द’ जस्ता आरोप खेप्नुपर्छ । आफ्ना हर इच्छा र आकांक्षा पूर्तिका लागि पुरुषमै भरपर्नुपर्ने परम्परागत सोच यो नाटकमा छ । यस हिसाबले नाटकका पात्रहरू परम्परागत लाग्छन् । पसलमा पैसा तिरेर खाएको भए पनि दलितलाई भाँडा माझ्न लगाउने जातीय अहम् र दलितमाथिको थिचोमिचोको पाटो अर्थपूर्ण लाग्छ । यही बेला छुवाछुतविरुद्ध विद्रोहको कुरा गर्ने चन्द्रे पात्रले पनि नाटकलाई अघि बढाउन सघाउँछ ।

नाटकमा बेचबिखनको चपेटामा परेकी माइलीजस्ता पात्र पनि छन् । नुवाकोटतिर व्याप्त चेलिबेटी बेचबिखन समस्यालाई इंगित गरेको भए पनि बेचबिखनको आधुनिक आयाम भने नाटकमा छैन । नाटकमा यौन दुर्व्यहारको मौका खोजी हिँडने चरित्र पनि छ । त्यस्तै चरित्रका कारण दुई जिउकी बन्न पुगेकी मनमायाको मनोवैज्ञानिक संघर्ष प्रशंसा योग्य देखिन्छ । यद्यपि उनका पतिले गरेको संघर्ष पनि उत्तिकै अर्थपूर्ण लाग्छ ।

नौगेडी कमाएर आउँदा भने भूकम्पले घर भत्किएर मनमायाको मृत्य भइसकेको हुन्छ । ‘नौगेडी’ लाई विम्बात्मक रूपमा प्रयोग गरेर सिंगो देशको कथा भन्न खोजेको निर्देशक लम्सालले बताए । नाटकमा मञ्च परिकल्पना तिलक राई, प्रकाश परिकल्पना दिवाकर घिमिरे, संगीत नारायण दंगाल, गायन सिद्धान्त परियार र लक्ष्मी स्याङ्तानको रहेको छ ।
असोज १२ गतेसम्म मञ्चन हुने नाटकमा रीता थापा, सुशीलसिंह ठकुरी, रुबी सत्याल, आईपी आचार्य, भीष्मराज जोशी लगायतले अभिनय गरेका छन् ।

https://ekantipur.com/entertainment/2019/09/18/156877868922536035.html

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न