नयाँ पत्रिका, काठमाडाैं
२०७६ असोज ४ शनिबार
विवाह गरेको १५ वर्ष बितिसक्दा पनि सन्तान नभएपछि च्यान्टे र मनमायाबीच सामान्य घरायसी झगडा भइरहन्छ । सन्तान नपाएकोमा गाउँघरकाले पनि कुरा काट्दै गरेको च्यान्टेले सुन्छ । सन्तानजस्तै सुनको नौगेडीको रहर पनि मनमायालाई भइरहन्छ ।
तर, गरिबीका कारण नौगेडी बनाउन नसकेको च्यान्टे र मनमायाको पारिवारिक कथासँगै जातीय छुवाछुत र राजनीतिबाट अछुतो हुन नसकेको कथालाई नाटक नौगेडीमा देखाउने कोसिस गरेका छन्, रंगकर्मी पुरु लम्सालले ।
भदौ २६ गतेदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटकमा नुवाकोटको दुप्चेश्वर मन्दिरमा धान्य पूर्णिमामा लाग्ने मेलाको मौकिल कल्चर पनि देखाउने कोसिस गरिएको छ । मेलामा गाइने गीत र बाजाका कारण नाटक थप मार्मिक बनेको छ ।
नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, आइपी आचार्य, बृहषमान सुनवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुबी सत्याल, जयराज तिमिल्सनाको अभिनय छ । मञ्जु गिरी र आकाशजंग श्रेष्ठले मञ्च व्यवस्थापन गरेका हुन् । नाटक १२ असोजसम्म चल्नेछ ।
https://www.nayapatrikadaily.com/news-details/25688/2019-09-21