सेतो खबर,
काठमाडौं २१ पुष २०७६, सोमबार ।
बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिबलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्बर ३० मा बरिसालस्थित स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरी दुई सो नाटक मञ्चन भएको हो ।
‘नाटक नेपाली भाषामा भए पनि हामीले धेरै कुरा बुझ्यौं,’ आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवम् वरिष्ठ बंगाली रंगकर्मी सोयव दुलालले भने, ‘नेपाल कला र संस्कृतिमा धेरै अगाडि छ । बरिसालमा अहिलेसम्म कुनै नेपाली नाटक मञ्चन भएको थिएन । देउकाशीले एउटा इतिहास पनि बनाएको छ बरिसालमा ।’
नेपाली रंगकर्मीको नाटकप्रतिको लगाव देखेर आफू नतमस्तक भएको र बंगाली रंगकर्मीलाई पनि नेपाली कलाकारबाट सिक्न अनुरोध गरेको उनले बताए । नाटक हेरेपछि प्रतिक्रिया दिँदै जिल्ला बाल प्रतिष्ठान, बरिसालका प्रमुख पंकज रोए चौधरीले भने– साँच्चै कलाको कुनै भाषा नहुने रहेछ । नेपाली नाटकले मन छोयो ।
आदि इत्यादिको प्रस्तुति रहेको नाटकको लेखन र निर्देशन पुरु लम्सालले गरेका हुन् । नेपालमा आयोजना भएका पछिल्ला केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा एकल नाटकका रुपमा मञ्चन भएको देउकाशी यसपटक पुनर्लेखन सहित मञ्चन भएको लेखक तथा निर्देशक लम्सालले जानकारी दिए । ‘मैले केही पात्र थपेको छु र परिवेश पनि अलि पृथक बनाएको छु,’ उनले भने । लमजुङको विकट गाउँ सिङ्दीको परिवेशमा तयार गरिएको नाटकमा अविवाहित प्रौढ महिलाको मनोभावनालाई सूक्ष्म रुपमा केलाइएको छ ।
आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापाले भने देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको बताए । नाटकले सांस्कृतिक मान्यता र सांस्कृतिक विचलनबीचको द्वन्द्वलाई कलात्मक किसिमले उठाएको मात्रै छैन अन्तरजातीय विवाहले निम्त्याएको सांस्कृतिक बिचलन र त्यसको असरको मुद्दालाई नयाँ किसिमले उठान गरेको छ ।
देउकाशीमा सुशिलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो आइपी आचार्य र अशोक थापाको अभिनय रहेको छ भने दिवाकर घिमिरेको प्रकाश परिकल्पना र परिचालन रहेको छ ।