गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटकमा, अब सुदूरपश्चिमको परिवेशमा मञ्चन हुने

काठमाडौँ- नेपाली साहित्यका एक उत्कृष्ट कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ अब रंगमञ्चमा पुनर्जीवित भएको छ । वर्षौँदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रंगकर्मी पुष्पराज अवस्थीले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालेका छन् ।

मैनालीले पहाडी ग्राम्य जीवनको यथार्थलाई चित्रण गर्दै लेखेको यो कथामा बाबुको देहवसानपछि दुई दाजुभाइबीचको भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ ।

निर्देशक अवस्थीले कथाका पात्र र परिवेशलाई डोटी पुर्‍याएर त्यहाँको जीवनशैली, रहनसहन, चाडपर्व र बोलीचालीलाई नाटकमा समावेश गरेका छन् । गौरा गीत गाउने महिला र नेपथ्यमा बज्ने सुदूरका संगीतले नाटकलाई थप जीवन्त बनाएको छ ।

निर्देशक अवस्थीले विद्यार्थीहरूले पाठ्यपुस्तकमा पढेको ‘कर्तव्य’ कथालाई मञ्चमा हेरेर अझ स्पष्टसँग बुझ्न सकून् भन्ने आफ्नो उद्देश्य रहेको बताए । मैनालीका कथाको यथार्थलाई संवाद, अभिनय र मञ्च-शिल्पमार्फत प्रस्तुत गर्नु चुनौतीपूर्ण रहेको नाटकलाई रुपान्तरण गरेका पुरु लम्सालले बताए ।

यस नाटकमा रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । भुवन दाहाल र जनक ताम्राकारको गीत-संगीत रहेको यस नाटकको कोरियोग्राफी श्याम कार्कीले गरेका छन् ।

आदिइत्यादि, मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) को संयुक्त प्रस्तुति रहेको यो नाटक भदौ ११ देखि २९ गतेसम्म काठमाडौंको रातोपुलमा रहेको मोनस्टर फिल्म एण्ड ओजस थिएटर (शैली थिएटर) मा नियमित मञ्चन हुनेछ ।

 

गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटकमा, अब सुदूरपश्चिमको परिवेशमा मञ्चन हुने

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन