विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागूपदार्थ दुर्व्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिहरूलाई नाटकको मुख्य विषयवस्तु बनाइएको थियो। सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिएको यस नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नाटक हेरिसकेपछि आफ्नो प्रतिक्रिया राख्दै जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारीले नाटक अत्यन्तै समयसापेक्ष रहेको बताउनुभयो।
नाटक सहीछापु एकदमै जनचेतनामूलक र समयसान्दर्भिक छ। अहिले हाम्रो समाजमा व्याप्त रहेको बालविवाह र सामाजिक घटनाहरूलाई यसमा उत्कृष्ट ढङ्गले समेटिएको छ। यो नाटक अभिभावक, विद्यार्थी र शिक्षकहरू सबैले हेर्नैपर्ने खालको बनेको छ।
नाटकको औचित्यमाथि प्रकाश पार्दै नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नाटक प्रदर्शन गर्नुको मुख्य कारण प्रष्ट्याउनुभयो।
अझै पनि नमोबुद्ध नगरपालिकाभित्र बालविवाह व्याप्त छ, अभिभावकहरूको हालत नाटकमा देखाइएजस्तै छ। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग र यसले निम्त्याउन सक्ने दुर्घटनाहरूका बारेमा जनचेतना जगाउन आवश्यक रहेकाले हामीले यो नाटक देखाएका हौँ।
‘आदिइत्यादि’ को प्रस्तुति रहेको यस नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो । नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ का रूपमा परिचित चर्चित कलाकार कमलमणि नेपाल, ‘गौरी’ का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतका कलाकारहरूले अभिनय प्रस्तुत गरेका छन्।