सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने

काठमाडौँ, असार ९ गते । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ। नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको हो।

विशेष गरी नेपाली समाजमा अझै पनि चुनौतीका रूपमा रहेका बालविवाह, लागुऔषध दुर्व्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसङ्गतिलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ। सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिने उक्त नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारादेवी सुनुवारका अनुसार नाटक असार ११ र १२ गते नगरका दुई विद्यालयमा प्रदर्शन गरिने छ। शाखा प्रमुख सुनुवारले नाटक प्रदर्शनमा उपस्थित भई सचेतना अभियानलाई सफल बनाउन विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूलाई हार्दिक अनुरोधसमेत गर्नुभएको छ।

‘आदिइत्यादि’ को प्रस्तुति रहेको नाटकलाई रङ्गकर्मी तथा निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गर्नुभएको हो। नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, ‘खुपीका बाउ’ का रूपमा परिचित कमलमणि नेपाल, ‘गौरी’ का रूपमा परिचित अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रुपेश मण्डल र अञ्जु खड्काको अभिनय रहेको छ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन