भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा

काठमाडौं, १३ २०७३ वैशाख । विनाशकारी भूकम्पको घाउ १ वर्ष पुग्दासम्म जस्ताको तस्तै रहेको बेला गाउँगाउँमा पिडा बिर्साउन विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । तर, युवा नाटककार तथा गजलकार पुरु लम्साल भने भूकम्पको घाउ बिर्साउनेभन्दा पनि भूकम्पबाट कसरी आफूलाई तथा आफन्तलाई सुरक्षित राख्न सकिन्छ भनेर सन्देश दिन नाटकमार्फत लागिपरेका छन् ।

लम्सालको परिकल्पना तथा निर्देशन रहेको ‘अमर मातृत्व’ नामक नाटक मंगलबारसम्म राजधानीको सर्वनाम थिएटरमा चलेको छ । उक्त नाटकले भूकम्पले नभएर हामीले बनाएका कमजोर भौतिक संरचनाले ज्यान लिने भएकाले घर निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने सन्देश बोकेको छ । नाटकले आमाको मायाको महत्वसमेत झल्काउने काम गरेको छ ।

१९९० सालको भूकम्पमा छोरालाई बचाउन जाँदा भीमप्रसादकी आमाले मृत्यु वरण गरेकी हुन्छिन् । आमाको मृत्युपछि एक्लै बाँचिरहेका भीमप्रसाद ०७२ सालको भूकम्पमा आमा गुमाएका शैलेशलाई सम्झाउन पुुगेका हुन्छन् । समयको जुनसुकै कालखण्डमा पनि आमाको माया सन्तानप्रति उस्तै हुन्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ ।

समयले विभिन्न कारणबाट मानिसलाई विवेक प्रदान गरिरहेको छ । तर, त्यही समयलाई मान्छेले चिन्न नसक्दा सन्तानले आमा गुमाउने तथा आमाहरूको काख रित्तो हुने क्रम जारी छ । सानो जग्गामा ठूलो घर, थोरै लगानीमा धेरै कोठा, एउटा कोठा बढी भए घरभाडा उठाएरै एकातिरको खर्च टार्ने, त्यही पनि नक्सा पास नगरी बनाएका घरका कारण ०७२ सालको महाभूकम्पमा धेरैले ज्यान गुमाए । हामीले आफन्त गुमायौँ, घर गुमायौँ, सांस्कृतिक संरचना गुमायौँ र धेरै आफन्त र घरबारविहीन भयौँ । अब यस्ता ससाना कुरामा हामीले सचेत हुनुपर्ने सन्देशसहित सकिन्छ नाटक ‘अमर मातृत्व’ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानकाे अायाेजनामा अादिइत्यादि समूहका कलाकारहरुले प्रस्तुत गरेको नाटकमा कलाकार विष्णुभक्त फुयाँल, मिश्री थापा, लुनिभा तुलाधर, विनोद मानन्धर, अशोक थापा, सुवास प्याकुरेल, सरिता साह, लक्ष्मण विक्रम बस्नेतलगायत कलाकारले जीवन्त अभिनय गरेका छन् । प्राडा तारानिधि भट्टराईको लेखन रहेको नाटक पुरु लम्सालको परिकल्पना तथा निर्देशनमा यही १४ वैशाखसम्म सर्वनाम थिएटरमा हरेक साँझ ५ बजेदेखि मञ्चन भइरहेको छ ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन