छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

बैशाक ११ २०७३ काठमाडौं

काठमाडौं नब्बे सालको भूकम्प जाँदा छोरालाई बचाउन भीमप्रसादकी आमाले आफूलाई मृत्युको मुखमा पुर्याौइन्।

आज पनि त्यस्तै भयो। आमाबुवाको ‘म्यारिज एनिभर्सरी’मा गीत सुनाउन भनेर छोरा शैलेश घरभित्र गितार लिन गए। ठिक त्यही बेला ठूलो भूकम्प आयो। छोरा शैलेशलाई बचाउन घरभित्र पसेकी सुषमालाई पिलरले थिच्यो, उनी बाँच्न सकिनन्।

कुरा १९९० सालको होस् या २०७३ को, सन्तानप्रति आमाको माया, स्नेह, लगाव उस्तै हुन्छ। मातृत्व सधैं अमर हुन्छ भन्ने कुरा पनि यी दुई आमाहरुको कथा सुन्दा प्रस्ट हुन्छ।

तर, १९९० सालदेखि आजसम्म आइपुग्दा पनि हाम्रो भौतिक संरचनाहरुको अवस्था उस्तै छ।

सानो जग्गामा ठूलो घर, थोरै लगानीमा धेरै कोठा, एउटा कोठा बढी भए घरभाडा उठाएरै एकातिरको खर्च टार्ने लोभ। तर हामी कोही पनि भूकम्प लगायत अन्य प्रकोपबाट हुन सक्ने क्षतिबारे सचेत छैनौं। न त विपत्मा कसरी व्यवस्थित हुने भन्नेबारे पूर्ण ज्ञान नै छ। हामी न सावधान छौं, न त हामीसँग पर्याप्त उद्धार टोली र सामग्री नै छन्।

यस्तैयस्तै सानातिना असावधानी, अभाव र अज्ञानका कारण भूकम्पमा परेर हामीले आफन्त गुमायौँ, घर गुमायौं, सांस्कृतिक संरचना गुमायौं।
यस्तै सन्देश दिन्छ- नेपाल विकास अनुसन्धान प्रतिष्ठानको प्रस्तुति ‘अमर मातृत्व’ले।

वैशाख १२, नेपालीहरुको लागि कालो दिन। यही दिनको सेरोफेरोमा सामाजिक सञ्जाल, पत्रपत्रिका, टिभी र रेडियोमार्फत भूकम्पमा ज्यान गुमाएकाहरुलाई सम्झने क्रम बढ्दो छ। भूकम्पले ध्वस्त बनाएको बस्ती र संरचनाहरु पुनर्निर्माणका लागि सरकारलाई दबाब दिनेहरु पनि थुप्रै देखिन्छन्। भूकम्प प्रतिरोधात्मक घर बनाउन, भूकम्पपछि संयमता अपनाउनु कत्तिको महत्वपूर्ण छ भन्ने जानकारी पनि विभिन्न माध्यमद्वारा सूचित गरिएकै छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले भूकम्पले निम्त्याएको विपत् व्यवस्थापनको उपायलाई सम्प्रेषण गर्ने राम्रो माध्यम रंगमञ्चलाई बनाएको हो। अदिइत्यादि समूहका कलाकारहरुले निखारिएकाे अभिनय हेर्न नाटकमा भूकम्पीय जोखिम, भूकम्प आउँदा अपनाउनुपर्ने सुरक्षा, भूकम्पपछिको संयमता, उद्धारका लागि हुनुपर्ने पूर्वतयारी बारे जानकारी दिने सो नाटक प्रा.डा. तारानिधि भट्टराईले लेखेका हुन्। नाटकमा आपतको बेला पनि नडगमगाउने निस्वार्थ मातृप्रेम र स्नेह केन्द्रमा राखिएको छ।
पुरु लम्सालद्वारा परिकल्पना र निर्देशन गरिएको नाटक ‘अमर मातृत्व’मा विष्णुभक्त फु़याँल, मिश्री थापा, लूनिभा तुलाधर, विनोद मानन्धर, डा. अशोक थापा, सुवास प्याकुरेल, सरिता साह, लक्ष्मण विक्रम बस्नेत लगायतको भूमिका छ।

 

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न