काठमाडौं । नाटककार पुरु लम्सालद्वारा लिखित नाटक ‘नौगेडी’ बंगलादेशमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन हुने भएको छ । महोत्सव ९ देखि १४ अक्टोबरसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुँदै छ ।
आदि इत्यादिको ब्यानरमा नौगेडी महोत्सवमा मञ्चन हुन लागेको आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाले बताए । लेखक लम्सालले नै निर्देशन गरेको उक्त नाटकमा पवित्रा खड्का, सुशीलसिंह ठकुरी, अनन्तरप्रकाश श्रेष्ठ, रीता थापा, आइपी आचार्य, जेडी डिसी, केदार बोहोरा, विमला अधिकारी देवकोटा, निर्मला खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।
उक्त महोत्सवमा नेपाल, बंगलादेश, भुटान, भारतलगायत विभिन्न देशका नाटक मञ्चन हुने आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. थापाले जानकारी दिए । थापाका अनुसार कोलकातामा केही महिनाअघि सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बंगलादेशी टिमको सिफारिसमा नेपाली नाट्य समूह आदि इत्यादिलाई महोत्सवमा सहभागिताका लागि बोलाइएको हो ।
भारतको कोलकातामा गत फागुनमा आयोजित महोत्सवमा आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले लम्सालकै लेखन र निर्देशनमा नाटक ‘पानीघट्ट’ मञ्चन गरेका थिए । पानीघट्टले कोलकातामा दर्शकको निकै राम्रो प्रतिक्रिया पाएको निर्देशक लम्सालले बताए ।
उनका अनुसार नेपाली समाजको यथार्थ परिवेश उधिनिएको नाटकलाई दर्शकले निकै साथ दिएका थिए । ‘पानीघट्ट’ नेपालका विभिन्न स्थानमा दर्जनभन्दा बढीपटक मञ्चन भएको र दर्शकले निकै मनपराएको निर्देशक लम्सालले बताए । लेखक तथा निर्देशक लम्सालले नौगेडी भने मञ्चन हुन बाँकी रहेको जनाए ।
संयोजक थापाले भने, ‘पानीघट्टबाट प्रभावित बंगलादेशी टिमले हाम्रो समूहको नाम सिफारिस गरेछ । त्यसपछि आयोजकले पानीघट्ट अथवा त्यस्तै सांस्कृतिक नाटक लिएर महोत्सवमा सहभागी हुन हामीलाई आग्रह गरेपछि सहभागी हुने निर्णय गरेका हौँ ।’
नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा आधारित भएर नाटक रचिएको लम्सालले जानकारी दिए । उनका अनुसार नाटकमा उक्त क्षेत्रमा विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको छ
http://www.souryadaily.com/2018/09/200620.html