पराजितको कथा ‘नौगेडी’

मङ्गलबार, ३१ भदौ २०७६
नागरिक

काठमाडौं – नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्। नौगेडी र सन्तान नभएका कारण दिनहुँजसो दलित दम्पतीबीच घर झगडा समान्यजस्तो लाग्छ। यो दृश्य राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘नौगेडी’ नाटकको हो।

गरिबी र अभावमा बाँचेको दलित दम्पती मनमाया र च्यान्टेका लागि नौगेडी आकासमा टिल्पिलाउने तारा जस्तै सुदूर बनिदिन्छ। दलित समुदायका च्यान्टे गाउँघरमा हुने छुवाछुतको समस्या भोग्न बाध्य छन्। श्रीमतीलाई नौगेडी बनाइदिने सपना बोकेर च्यान्टे पल्लो गाउँसम्म पुगेर लुगा सिलाउन लागिपरेको अवस्थामा गाउँलेले सन्तानको आशा देखाएपछि मनमायाले शरीर सुम्पिन तयार हुन्छिन्। यता श्रीमती गर्भवती भएको खबरले च्यान्टे खुसी भएर नौगेडी दिएर आउँदै गर्दा भूकम्प जान्छ। भूकम्पका कारण गम्भीर घाइते मनमायाको निधन भएपछि च्यान्टेको सपना अधुँरो हुन्छ।

उता, वेश्यालयमा बेचिएर फर्केकी चेलीलाई श्रीमतीको रुपमा भित्र्याएर समाजमा पुनस्र्थापित गराउन खोज्ने चन्द्रबहादुर अघोषित रुपमा सामाजिक बहिष्कारको सिकार बन्छ। असंख्य सामाजिक चुनौतीबीच बेचिएकी चेलीसँग घरजम गरेर आदर्श र निष्ठावान राजनीतिज्ञको उदाहरण बनेको चन्द्रबहादुर कहिल्यै चुनाव जित्न सक्दैन र समाजको पराजित पात्रको परिचय बोकेर हिँडिरहन्छ।

गत भदौ २७ देखि मञ्चन भइरहेको नाटकमा लामो समयसम्म मनमायाबाट सन्तान नजन्मिनुको चोट र अर्कोतिर डाक्टर जँचाएर त्यसको कारण पत्ता लगाउन नचाहने/नसक्ने ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको छ। विसं.२०७२ वैशाख १२ को भूकम्पको अवस्थालाई केन्द्रित गरेर नाटक तयार गरिएको छ। लेखक तथा निर्देशक पुरु लम्सालले नाटक तयार गरेका छन्। ‘नेपाली संस्कार र संस्कृति बोकेको नाटकमा समाजको वास्तविकता समेट्ने प्रयास गरेको छु,’ उनले भने, ‘यसमा नुवाकोट र आसपासको घाँसे गीत, छुवाछुत प्रथा, राजनीतिक सोच र निराशालाई प्रस्तुत गरिएको छ।’

लोपोन्मुख काँठको घाँसे भाका र दुप्चेश्वर जात्रालगायत नुवाकोटको उपल्लो भेगमा बसोबास गर्ने तामाङ समुदायले विभिन्न जात्रापर्वमा नाच्ने बम्बो नृत्यले नाटकमा समावेश गरिएको छ। नाटकले समाजको आस्था, विश्वास तथा सामाजिक–आर्थिक स्थितिलाई देखाउन खोजेको छ। सन्तान नहुँदाको नारी मन, पसलको निहुँमा महिलामाथि आँखा लगाउने पात्रको व्यथा र कथा पनि नाटकले उधिनेको छ।

कार्यक्रम संयोजक एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अशोक थापाका अनुसार नाटकमा लोपोन्मुख काँठे गीत र नृत्य समेटिएका छन्। नाटकमा सुशीलसिंह ठकुरी, रिता थापा, आइपी आचार्य, बृहसमान सुनुवार, भिष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, अस्मिता बयलकोटी, रुवी सत्याल, जयराम तिमिल्सिना, समिर खनाल र राहुल श्रेष्ठले अभिनय गरेका छन्। नाटक आगामी असोज १२ सम्म मञ्चन हुँदैछ

https://dev.nagariknetwork.com/news/92281/

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन