माघ २० २०७५ लमजुङ
आँगनमा शव लडिरहेको छ । वरिपरि मान्छेहरू जम्मा भएका छन् । बिजुली चम्किन्छ, गड्याङगुडुङ गर्दै मेघ गर्जिन्छ र पानी बर्सिन्छ । मान्छेहरू शव छाडेर पिँढीमा ओत लाग्न जान्छन् । तर, एउटा बालक भने दौडिँदै घरभित्र गएर छाता ल्याउँछ र शवलाई छाता ओडाउँछ । नाटकको अन्तिम क्षणले कतिपयलाई रुवाउँछ ।
गाउँमा पुस्तौँदेखि चल्दै आएको पानीघट्ट आधुनिकतासँगै संकटमा परेको कथा नाटकले बोकेको छ । पानीघट्ट थेग्दै आएका ठाडोभाका गाउने बाजेको निधन हुन्छ । घरायसी आर्थिक संकटले छोरा विदेश पस्छ । छिमेकीले पनि गाउँ छाड्छन् । गाउँका युवा कोही जापान, अस्ट्रेलिया त कोही कतार जान्छन् ।
त्यति मात्रै होइन, धन कमाउने लालसाले ऋण खोजेर युवा विदेश गएको क्षणले समेत धेरैलाई रुवायो । ‘यस्तो त कसैलाई पनि नपरोस्,’ नाटक हेरेपछि बेसीसहरकी कल्पना परियारले भनिन् ।
नाटक हेर्दै गर्दा सुरुतिर सबै हाँसे, तर उत्तराद्र्धतिर सबैका आँखा रसाउन सुरु भयो । युवा बिदेसिएका छन् । वृद्धवृद्धा, महिला, अपांगता भएका मात्रै गाउँमा छन् । यसै क्रममा ठाडोभाका बाजेको निधन हुन्छ । वृद्ध र अपांगता भएकाहरूले शव उठाउन सक्दैनन् । अन्ततः उनकै बुहारी, छोरी र नाति शव बोक्न तयार हुन्छन् । बिहीबारदेखि तीन दिनसम्म बेसीसहरमा मञ्चन भएको नाटक पानीघट्टको कथा र परिदृश्य हो, यो ।
पुरु लम्सालको कथा तथा निर्देशनमा मञ्जरी नाटय समूहले मञ्चन गरेको हो, पानीघट्ट । नाटकमा सामाजिक विषयसँगै लमजुङको ठाडो भाकालाई पनि समावेश गरिएको मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहराले बताए । नेपाली कला र संस्कृतिलाई पनि पानीघट्टमार्फत देखाउन खोजिएको निर्देशक लम्सालले बताए । ‘नेपालमै लोपोन्मुख पानीघट्टलाई विषयवस्तु बनाएर लोकसंस्कृति ठाडोभाका समेतलाई जोगाउने प्रयास नाटकमार्फत गरेका छौँ,’ उनले भने, ‘यसमा १३ वर्षीय विप्लव बोहरादेखि ७० वर्षीय विष्णुभक्त अधिकारीसम्मले अभिनय गरेका छन् ।’
यसैबीच, पानीघट्ट भारतको कोलकातास्थित रवीन्द्रनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चनका लागि छनोटसमेत भएको छ । २४ फेब्रुअरीमा त्यहाँ नाटक मञ्चन हुने लम्सालले बताए ।
लम्सालकै लेखन-निर्देशनमा यसअघि लमजुङमा पहिलोपटक ‘थिएटर’मा नाटक ‘फड्के’ मञ्चन भएको थियो ।