तीर्थराज निरौला
२०७६ असोज ४ शनिबार
काठमाडौं- सामाजिक विसंगति चित्रणमा सफल नाटक ‘नौगेडी’ले दिन खोजेको सन्देश राजनीतिमा भने सन्देशप्रधान छ। समाजका कथित तल्लो जातिका कथाव्यथालाई केन्द्रीय विषयवस्तु बनाएर उनै पात्रका माध्यमबाट सामाजिक विसंगति सशक्त रूपमा उतार्न खोज्नु नाटकको फरक विशेषता हो।
‘नौगेडी’ प्राप्तीको अभिलाषा बोकेकी मनमाया र सोही अभिलाषा पूरा गर्ने दायित्व सम्झेको च्यान्टेका वरिपरि नाटकको विषयवस्तु घुमेको छ। नाटक हेर्दै गर्दा परिधीय विषय बनेको राजनीतिले प्रवाह गर्न खोजेको सन्देश भने विसंगत लाग्दैन।
नुवाकोट जिल्लाको दूप्चेश्वर महादेव मन्दिरबाट सुरु भएको नाटकको विषयवस्तु अन्त्यसम्म पनि दूप्चेश्वरकै नामोच्चारणमा घुमेकाले धेरै स्थान कथावस्तुको सेटिङमा छैन। यसले समय, स्थान र नाटकीय कार्यको एकरूपता कायम गर्न सहयोग गरेको छ। हुन त नाटकको समयसन्दर्भ कुन बेलाको हो भन्ने पात्रबाट उच्चारणमा छैन, तर समाजमा आज पनि तिनै चरित्र देखिने भएकाले यो नाटक समकालीन हो भन्ने लख काट्न मुश्किल पर्दैन।
०००
हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने मेलामा गाउँबेसीबाट आएका मानिस नृत्य र गायनमा रमाइलो गर्ने माहोलबाट नाटक सुरु भएको छ। यही परिवेशमा मनमाया र च्यान्टेको पनि भेट हुन्छ। गीतैगीतमा च्यान्टेले मनमायालाई नौगेडी बनाइदिने आश्वासन पनि दिन्छ। आपसमा मन पराएर उनीहरु जिन्दगी सँगै काट्ने निर्णयसम्म पुग्छन्।
विवाह गरेको लामो समय बितिसक्दा पनि च्यान्टे र मनमायाका सन्तान हुँदैनन्। मनमाया पनि बीचबीचमा नौगेडीका कुरा उठाइहरन्छे। कमजोर आर्थिक स्थिति भएको च्यान्टेले आफ्नै वाचा पूरा गर्न सकिरहेको हुँदैन। श्रीमान्को आर्थिक स्थिति बुझिसकेपछि मनमायालाई नौगडी लगाउने रहरभन्दा पनि सन्तान खेलाउने रहरले बढी पिरोल्न थाल्छ।
एक त दलित परिवार भनेर हेला गरिने पृष्ठभूमिका मनमाया र च्यान्टेले सामाजिक विभेदको सामना गरिरहनु नै परेको हुन्छ। यसमाथि पनि सन्तान नहुँदा गाउँलेले गर्ने हेला, तिरस्कार र पीडा सहन पनि दुवै लोग्नेस्वास्नी बाध्य नै हुन्छन्। यसले च्यान्टेलाई पनि नराम्रो लागेको त हुन्छ, तर उसले यो पीडा देखिने गरी व्यक्त गर्न सक्दैन।
सन्तान र नौगेडी नपाएको निहुँमा च्यान्टेको परिवारमा बेचैनी बाहिरीरूपमै प्रकट हुनथाल्छ। यत्तिकैमा घरपरिवारमा झगडाको विषय पनि यही बनिदिन्छ। यो क्रम बिस्तारै बाक्लिँदै जान थाल्छ।
गाउँबाट आवतजावत गर्ने मानिसले पनि उनीहरूको झगडा देख्न थाल्छन्। एकदिन इन्दिरा बज्यै च्यान्टेको घरमा पुग्दा श्रीमान्-श्रीमतीका बीच भनाभन परिरहेकै हुन्छ। इन्दिरा बज्यैले दूप्चेश्वर महादेको दर्शन गरे सन्तान हुने कुरा बताउँछिन्। मनमाया दूप्चेश्वरको दर्शन गर्न जान जोड गर्छे, च्यान्टे विश्वासै गर्दैन।
०००
अर्जुन दाइको चिया पसल रहेको चोक गाउँका मानिस जम्ने केन्द्र हो। चुनाव हारेकादेखि चुनाव हराउनेसम्म, सामाजिक विभेदका सिकारदेखि ठेकेदारसम्म र दिनभर लुडो जमाएर पैसा नतिरी भाग्नेदेखि सामाजिक विभेद अन्त्यका लागि राजनीतिलाई माध्यम बनाउनेसम्मका मानिस भेट हुने चोक हो यो। यहाँ च्यान्टेलाई सन्तान जन्माउन नसकेको र दलित भन्दै गरिएको हेला मजाकको विषय बनेको छ।
च्यान्टेलाई गरिएको विभेदपूर्ण व्यवहार चुनाव हारेको चन्द्रबहादुरलाई सैह्य हुँदैन। दलितले चिया खाएको गिलास उसैले सफा गर्नुपर्छ भन्ने मान्यता उसले भत्काउने प्रयास गरेको छ।
दलालीका कारण भारतमा बेचिएर पुनः गाउँ फर्केकी माहिलीलाई पनि समाजले हेला गरेको हुन्छ। ‘बम्बई आँप ठूलो छ, तर कहिल्यै फल्दैन’ भन्दै उसको जीउडालको इर्ष्या गरेर गाउँमा कुरा काट्दै हिँड्ने धेरै हुन्छन्। समाजका कथित उपल्लो जातिको व्यवहार उसलाई मन पर्दैन। माहिलीका साथीसंगी पनि समाजका तल्ला स्तरका मानिस नै हुन्। उसको सम्बन्ध च्यान्टेको परिवारसँग अलि नजिक छ।
राजनीतिमा लागेको चन्द्रबहादुर चुनावमा हारेको पात्र हो। समाज सुधारका लागि राजनीति गरेको बताउने चन्द्रबहादुरको व्यवहार पनि वास्तवमा त्यस्तै देखिन्छ। समाजका गरिब र दुःखीप्रति न्याय चाहने चन्द्रबहादुर च्यान्टे र माहिलीको पक्षपाती हो।
चन्द्रबहादुरले भारतमा बेचिएकी माहिलीसँग प्रेम गर्छ। माहिली पनि चन्द्रबहादुरलाई माया गरेकी हुन्छे। माहिलीसँगै जीवन बिताउने प्रण गर्छ चन्द्र बहादुर।
च्यान्टेले चिया खाएको गिलास छुन पनि घिनाउने ‘अर्जुन दाइ’ सामन्ती समाजको प्रतिनिधिमात्र होइन, ठेकेदार पनि हो। तर, उसको कुत्सित मानसिकताले उही च्यान्टेकी श्रीमतीसँग लहसिन भने छेक्दैन। अन्ततः मनमायाले अर्जुनको गर्भधारण गर्न पुग्छे। यो विषयमा च्यान्टे विल्कुल अनविज्ञ छ।
च्यान्टे र मनमाया बीचको मुखामुखको झगडा एकदिन हात हालाहालसम्म पुग्छ। विरक्तिएको च्यान्टे लुगा सिउने मेसिन बोकेर ‘विष्ट’का घरतर्फ लाग्छ। केही दिन उतै बस्छ। यता मनमाया भने गर्भधारण गरेपछि अलि बिसन्चोको अवस्थामा पुग्छे।
सहर पसेकी माहिली गाउँ फर्किँदा मनमायालाई उपहार ल्याएर फर्किएकी हुन्छ। ती सबै उपहार दिँदादिँदै च्यान्टे पनि आइपुग्छ। माहोल खुसीमा परिणत हुन्छ, तर मनमाया अरुको खुसीमा साथ दिन सक्दिन। च्यान्टे खुसीले ट्याम्को बजाउन थाल्छ। तर, तत्कालै आएको भूपम्पले खुसी मात्र लिएर जाँदैन, मनमायाको मसेत इहलिला सकिन्छ। जीवनको लामो अवधि नौगेडीको आश गरेरै बताएकी मनमायाले च्यान्टेले ल्याइदिएको नौगेडी देख्नसमेत पाउँदिन।
०००
मनमाया र च्यान्टे नाटकका केन्द्रीय पात्र हुन्। उनीहरूकै वरिपरि कथा सीमित हुन्छ भने मनमायाको देहान्तसँगै नाटक पनि समापन हुन्छ। माहिली सह-नायिकाको भूमिकामा देखिन्छे भने अर्जुन दाइ खलनायक हो। चन्द्रबहादुर परिवर्तनको संवाहकका रुपमा प्रस्तुत हुन खोजेको छ। तर, उसको राजनीतिक हारले समाजले तत्कालै परिवर्तन चाहेको देखिँदैन। समाजमा सत्य र निष्ठाको जित हुँदैन भन्ने कुरा यसले प्रष्ट पारेको छ। तर, कम्तीमा पनि ऊ आफ्नो लक्ष्यप्रति अविचलित छ।
च्यान्टे परिस्थितिको सिकार हो। सन्तानोत्पादन क्षमतामा भएको प्राकृतिक कमजोरी खेपेको उसलाई त्यो कुरा नाटकको अन्त्यसम्म पनि थाहा हुँदैन। अरूको खेलको सिकार च्यान्टे भएको छ।
नाटकमा पात्रविधान सशक्त अनुभूति गर्न सकिन्छ। कथित तल्लो जातिको नाम पनि तल्लो स्तरको नै राखिएको छ भने माथिल्लो स्तरको पात्र भनिएकाहरूको नाम पनि उपल्लो जातिलाई संकेत गर्ने प्रकृतिकै छन्। सामाजिक रुपमा च्यान्टे र माहिली अरूले नै राखिदिएका जस्ता नाम लाग्छन् भने अर्जुन र चन्द्रबहादुरले माथिल्लो स्तरको संकेत गरेका छन्।
विसंगतिप्रधान नाटकमा पात्रको नाम अनुसारको काम भन्दा पनि नाम विपरीतको या अमूर्त व्यवहार अपेक्षित हुन्छ। यो कुरा अर्जुनका पक्षमा मात्र उचित छ। किनभने उसको नाम र काममा आकाश-जमिनको अन्तर छ। चन्द्रबहादुर मुखले मात्र समाज परिवर्तन गर्न हिँडेको नभई व्यवहारमा पनि यो कुरा उतारेर देखाएको हुन्छ। च्यान्टेको वकालती गर्नु र वेश्यालयमा बेचिएकी माहिलीसँग जीवन जिउने प्रण गर्नु अनुकरणीय र सन्देशमूलक छ।
नाटकको अन्त्यमा भूकम्प जाँदाको दृश्यमा प्रकाश संयोजन स्मरणीय लाग्छ। तर, मनमाया र अर्जुनबीचको ‘हर्कत’का बेला प्रकाशको उचित संयोजन नगरिएको भए पनि दृश्य र संवादले धेरै कुरा संकेत गर्न सकिन्थ्यो। यसमा निर्देशकीय क्षमता अपूरो लाग्छ।
नाटकको कथा जति सन्देशमूलक छ, अधिकांश स्थानमा दृश्य पनि उत्तिकै सबल छन्। नाटकमा प्रयोग गरिएको भाषाशैली आमरुपमा प्रयोग गरिने खालको र सरल छ। ग्रामीण परिवेशले नाटकलाई गाउँसम्म दुरुस्तै जोड्न सफल भएको छ। एकले अर्को पात्रलाई प्रहार गर्नु नाटकको विशेषता हो। हास्यरसले भरिएका कतिपय संवाद जीवन्त लाग्छन्। यसले दर्शकलाई मनोरञ्जन पनि उत्तिकै प्रदान गर्छ।
नाटक : नौगेडी
लेखन तथा निर्देशन : पुरु लम्साल
सह-निर्देशन : आइपी आचार्य
मञ्च परिकल्पना : तिलक राई
संगीत संयोजन : नारायण दंगाल
पार्श्व गायन : सिद्धान्त परियार र लक्ष्मी स्याङ्तान
कलाकारहरू : आइपी आचार्य, रीता थापा, सुशीलसिंह ठकुरी, वृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल र जयराम तिमल्सिना।
https://nepallive.com/story/147871