रंगकर्ममा महिलाको उपस्थिति

पुरु लम्साल

सुरु सुरुमा नाटक मञ्चन गर्दा महिलाको चरित्रमा पुरुष कलाकारले नै अभिनय गर्ने गरेका थिए । शंकर लामिछाने, नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिलाको रुपमा मञ्चमा अभिनय गरेका थिए । बुद्धिदेवी मर्हजन नेपालको रगमञ्चका पहिलो महिला कलाकार हुन ।

 

वि..स १८५५ मा शक्तिबल्लभ अर्यालले संस्कृतमा रहेको हास्यकदम्बकमको नेपाली अनुवाद हास्यकदम्ब बाट सुरु भएको नेपाली नाटक लेखनको परम्पराले अहिले दुई सय वर्ष भन्दा लामो चरण पार गरिसकेको छ । त्यसयता नेपाली मौलिक नाटक लेखनको परम्परालाई पहलमानसिंह स्वाँरको अटलबहादुर हुँदै पछिल्लो अवस्था सम्म आइपुग्दा नेपाली नाटक लेखनमा पुस्तकका रुपमा सात सय हाराहारीमा नाटकका पुस्तकहरु प्रकाशित छन् भने फुटकर सहित तीन हजार भन्दा ज्यादा नाटक लेखिएको पाइन्छ । अति नै कम लेखिने विधाका रुपमा लिइने नाटकको यो लेखन उपलब्धी सन्तोषजनक मान्न सकिने अवस्था होइन् । नाटक दृश्य विधा भएका हिसावमा नाटकको मञ्चनले विशेष अर्थ राख्दछ तर नाटक लेखन नै कम भएको अवस्थामा मञ्चनका हिसावले नेपाली नाटकको मञ्चनको अवस्था अझै दयनीय रहेको छ । वीर शमशेरको पालामा वि.स १९४२ देव शमशेरको दरवारमा नाटक देखाउनका निम्ति कवि मोतिराम भट्टले कालिदास लिखित अभिज्ञान शाकुन्तलम्लाई नेपालीमा अनुवाद गरेर मञ्चन गरे पश्चात नेपाली नाटकको मञ्चन परम्पराको श्रीगणेश भएको मान्यता छ । पछिल्लो अवस्था सम्म आइपुग्दा नेपाली रंगमञ्चमा जम्माजम्मी बाह्र सय नाटक मञ्चन भएको तथ्य भेटिन्छ । नेपाली नाटक मञ्चनको सुरुवाती समयमा महिला कलाकारको सहभागिता शून्य थियो ।

सुरु सुरुमा नाटक मञ्चन गर्दा महिलाको चरित्रमा पुरुष कलाकारले नै अभिनय गर्ने गरेका थिए । शंकर लामिछाने, नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिलाको रुपमा मञ्चमा अभिनय गरेका थिए । बुद्धिदेवी मर्हजन नेपालको रगमञ्चका पहिलो महिला कलाकार हुन । नेपाली नाट्य क्षेत्रमा बुद्धि देवी मर्हजनको आगमन पछि अन्य महिला कलाकारहरुको आगमन भएको देखिन्छ ।

‘आमा’ फिल्मबाट चलचित्रको यात्रा सुरु गरेकी भुवन चन्दले बालकृष्ण समको लेखन तथानिर्देशन रहेको नाटक ‘अन्धवेग’ मा २०१० सालतिरै उनले बालकलाकारको भूमिका निभाएकी थिइन् । त्यसपछि कमला श्रेष्ठ, विमला श्रेष्ठ, सुभद्रा अधिकारी शकुन्तला शर्मा, मीना श्रेष्ठ, शबनम बज्राचार्य, शर्मीला शाही , शोभा सिंह सपना प्रधान, रेणु केसी, शमा श्रेष्ठ, सूर्यमाला शर्मा, शारदा शाक्य, शोभा सुब्बा, शशी थापा, निशा शर्माहरुका उपस्थितिनेपाली नाटकमा देखियो । विजय मल्लले निर्देशन गरेको नाटक ‘कंकाल’ मा पहिलोपटक बालकलाकारका रुपमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेकी निशा शर्मा पछिल्लो समयसम्म पनि सक्रिय रंगकर्ममा छिन् । निशाले रंगकर्मको सुरुवात गर्दा लक्ष्मी श्रेष्ठ, नारायणीदेवी श्रेष्ठ, चन्द्रमाला शर्मा, सुभद्रा अधिकारी, शर्मिला मल्ललगायत महिला कलाकारहरुको आगमन नेपाली रंगमञ्चमा भइसकेको थियो । लक्ष्मी गिरी, शकुन्तला गुरुब शर्मा, श्रीमाला शर्मा, सारदा शाक्य, बसुन्धरा भुसाल, विमला श्रेष्ठ, नारायणदेवी प्रधान, कृष्णा प्रधान, लक्ष्मी श्रेष्ठ, मिथिला शर्मालगायतका महिला रंगकर्मीहरुको उपस्थितिले नेपाली रंगकर्ममा महिला रंगकर्मीहरुको सहभागिता बाक्लो हुँदै गयो । तीस र चालिसको दशकमा उदाएका महिला रंगकर्मीहरुले विरलै नाटकलाई निरन्तरता दिएको पाइन्छ । नृत्य क्षेत्रबाट रंगकर्ममा आएका धेरै महिला रंगकर्मीहरु पुरानै पेशामा फर्किएका छन् ।

अभिनयलाई नै निरन्तारता दिने महिला कलाकारहरु भने निकै कम देखिन्छन् । नाटक र फिल्म दुवै क्षेत्रको अभिनयमा सक्रिय सुशीला रायमाझी, सुवर्ण पोख्रेल, भुवन चन्द बसुन्धरा भुसाल लगायत अभिनयमा सफल पनि रहेता पनि नाटकमा निर्देशनमा अपेक्षकृत रुपमा आउन सकेनन् । अझै पनि नेपाली रंगमञ्चमा महिला निर्देशकको उपस्थिति एकदम पातलो देखिन्छ । ६० को दशक पछि भने रगंमञ्चमा उल्लेख्य संख्यामा महिलाहरुको सहभागिता बढेको छ । निर्देशन र अभिनयमा बाक्लै सहभागिता रहँदै आएको छ महिला रंगकर्मीहरुको । राजधानी र मोफसलमा खुलेका नाटकघरहरुले पनि महिला सहभागिता बढ्दै गएको हो रंगमञ्चमा । नेपाली रंगमञ्चमा महिलाको सहभागिता बढाउनमा आरोहण गुरुकुलको ठूलो भूमिका रहेको छ । गुरुकुलले धेरै महिला कलाकार जन्माएको छ । गुरुकुलको स्थापना सँगै रंगमञ्चमा उदाएका पशुपति राई, सरिता गिरी, अरुणा कार्की, सरस्वती चौधरीहरु अहिले पनि रंगकर्ममा र चलचित्रको अभिनयमा निरन्तर छन् । ६० कै दशबाट रंगकर्ममा आएका लुनिधा तुलाधर, दिया मास्के, सिर्जना शुब्बा, शिवानसिंह थारु, आकांक्षा कार्की, लगायत सँगै उदाएको पछिको पुस्ताले रंगमञ्चमा आफ्नो उपस्थिति प्रमाणित गरिरहेका छन् । नाटक लेखनमा निर्देशनमा र अभिनयमा समेत धेरै महिला रंगकर्मीहरु अगाडि आएका छन् । राजधानीबाट मात्रै नभई मोफसलबाट पनि महिला रंकर्मीहरुको बलियो उपस्तिथि नेपाली रंगकर्ममा देखिएको छ । परिवर्तन थिएटर झापाबाट निर्देशन र अभिनयमा उदाएकी कविता नेपाल सम्भवता मोफसलकै एक्लो महिला निर्देशक हुन् ।

मिनापकी प्रियंका झा पनि मोफसलबाटै उदाएकी अर्की कलाकार तथा निर्देशक हुन् । झापामै लीला विष्ट, सञ्चिता पोखरेल, पुजा आचार्य निरन्तर रंगकर्ममा छन् । पछिल्लो समयमा खुलेका विभिन्न नाटकघरहरुमा धेरै महिला रंगकर्मीहरु निरन्तर रंगकर्म गरिरहेका छन् । अञ्जु रन्जितकार, मिना पूर्णिमा, रिता थापा, पवित्रा खड्का, नम्रता केसी, संगीता उँराव रोशनी स्याब्बो, विनिता गुरुब, सरिता शाह, मेनुका प्रधान, सुशील थापा, सविना गोपाली, सिर्जना अधिकारी, सोविता अधिकारी, संगीता थापामगर,निशा पाख्ररिन, दीपमाला परियार, रेनु योगी, सरस्वती अधिकारी, अनामिका लामिछानेलगायत धेरै महिला रंगकर्मीहरुको सक्रिय सहभागिता छ । मोफसलमा पनि महिला रंगकर्मीहरुको सहभागिता बढ्दो छ । पोखरामा रहेर रंगकर्म गरिरहेकी अन्जु दहाल, सोनिया कार्की, लमजुंगकी शान्ति श्रेष्ठ, गंगा नेपाली, झोरहाटकी अनु श्रेष्ठ मनिसा बराल दीक्षा चौधरी, इलामकी जिविका लिम्बु, सफलता राई, कविता लुईटेल, प्रतिमा रिजाल मुना भट्टराई, अञ्जना लुईटेल धरानकी तुलसा थापा, कुमारी राई लगायत महिला रंगकर्मीहरु मोफसलमा रहेर रंगकर्ममा सक्रिय गरिरहेका छन् । अभिनयमा महिलाहरुको उपस्थिति बाक्लो रहेता पनि निरन्तरताका हिसावले यो उपस्तिथिमा सन्तोष मान्न सकिने अवस्था छैन । निर्देशनमा पनि महिलाहरुको उपस्थिति अपेक्षकृत होइन । अझै प्राविधिक पाटोहरु, मञ्च परिकल्पना र निर्माण, प्रकाश परिकल्पना र परिचालनमा त महिलाहरुको उपस्थिति शून्य प्राय छ ।

लम्साल  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हुन् ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न