नेपाली नाटक मञ्चनको वर्तमान अवस्था

पुरु लम्साल

 

नेपाल कला र संस्कृतिका हिसाबले धनी मात्रै छैन विभिन्न जाजजातीका मौलिक लोक परम्पराहरु र सांस्कृतिक पर्वहरुले भरिपूर्ण छ । नेपाली नाटकको मञ्चित इतिहास खोज्दै जाँदा मल्लकालमा भएका बिभिन्न नाचहरुलाई छुटाउन सकिँदैन । बालन, भुवा, हुड्केली, धाननाचकत्तिक नाच, सोरठी, मारुनी, रोधी, घाटु, छेच्यू, न्वागीलगायत धेरै नेपाली संस्कृति र पर्वहरु प्रदर्शनकला भित्र पर्दछन् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म नेपाली लोकनाटकहरु पनि प्रदर्शनकलाकै अंग हुन् । नेपाली रंगमञ्चीय परम्परामा डबली नाटकको विशिष्ठ स्थान रहेको छ । डबलीमा विभिन्न प्रकरका लोकनाटक र नृत्यहरु प्रदर्शनको परम्परा आजपर्यन्त जीवित छ । नरेन्द्र मल्लले निरन्तरता दिएको हरिसिद्धि नृत्य होस् वा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९७ बाट सुरु गरेको कार्तिक नाच, यी नेपाली डबली परम्परामा हुँदै अहिलेको अवस्थासम्म आइपुग्दा नेपाली रंगमञ्चले ठूलो फड्को मारिसकेको छ । सांस्कृतिक पर्वहरु र नाचहरु अलिखित नाटकहरु हुन् । जो परापूर्वकालदेखि निरन्तर चलिरहेका छन् ।

लेख्य रुपमा नेपाली नाटकको इतिहास जति लामो छ मञ्चनको हिसाबमा मौलिक नेपाली नाटककोे इतिहास सयवर्ष पनि छैन । पहलमानसिंह स्वाँरको अटलबहादुरबाट सुरु भएको नेपाली नाट्य लेखनको इतिहास असीको दशकसम्म आइपुग्दा विभिन्न लेखकहरुले यसमा कलम चलाएको पाइन्छ । अनूदित रुपमा नेपाली साहित्यको पहिलो नाटकको हास्यकदम्बलाई मनिन्छ । हास्यकदम्ब शक्तिबल्लभ अर्यालद्वारा वि.सं. १८५५ मा रूपान्तरित नाटक हो । त्यस्तै गरी सं. १८९२ मा भवानीदत्त पाण्डेले संस्कृत नाटक मुद्राराक्षसको अनुवाद गरे । मोतीराम भट्टका शकुन्तला (वि.सं. १९४४–४८, रचना) शकुन्तला र प्रियदर्शिका नाटक मञ्चन भएको इतिहास पाइन्छ । वि.सं. १९५० मा डम्बर शमशेरले नारायणहिटी दरबारमा रोयल इन्पेरियल अपेरा हाउस नामक थिएटरको स्थापना गरेर आफ्नै निर्देशनमा पहिलो थिएटर नाटक शाहवहराम मञ्चन गरेका थिए । नेपाली रंगमञ्चमा नेपाली नाटक मञ्चनको सुरुवात गर्ने निर्देशक बालकृष्ण सम हुन् । समले वि.सं. १९९२ मा सर्वप्रथम ध्रुव नाटकको लेखन तथा निर्देशन गरेका थिए । त्यसपछि नेपाली रंगमञ्चमा नेपाली नाटक मञ्चनको परम्परा सुरु भएको हो ।

संवाद सहितको मौलिक नेपाली नाटक मञ्चनको परंपराको सुरुआत बालकृष्ण समले वि.सं. १९९२ मा सर्वप्रथम ध्रुव नाटकबाट गरेका हुन् । १९९३ मा समको प्रेम नाटक पनि मञ्चन भएको इतिहास छ । बालकृष्ण समको मौलिक नाटक मुकुन्द इन्दिरा वि.सं. १९९४ मा दरबार हाइस्कुलमा मञ्चन गरियो वि.सं. १९९६ मा प्रह्लाद नाटकको मञ्चन गरे । समकै तानसेनको झरी (१९९७) मुटुको व्यथा (१९९६) मा मञ्चन भएको थियो । लेखनाथ पौड्यालको ‘लक्ष्मीपूजा’ १९९५ सालमा लैनचौर प्रदर्शनी स्थलमा मञ्चन भयो । भिमनिधी तिवारीको नाटक ‘सहनशीला सुशीला’ १९९५ मा मञ्चित अत्यन्त सफल नाटक हो । १९९७ सालमा रङ्गकर्मी बेखानारायण महर्जनले पहिलोपटक काठमाडौंको भोटेबहालमा डबली बनाएर नाटक ‘राजकुमार विश्वन्तर’ देखाएका थिए । वि.सं. १९९९ मा ईश्वर बरालले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित खण्डकाव्य कुञ्जिनीलाई नाटकीय स्वरूप प्रदान गरी सिंहदरबारको नाचघरमा प्रदर्शन गराएका थिए । गोपालप्रसाद रिमालले आफु प्रवन्धक रहेर वि.सं. २००० मा लगनटोलमा ‘गौरीशंकर नाट्यसमुदाय’ को स्थापना गरे । यस संस्थाको अध्यक्ष बालकृष्ण सम थिए भने विजय मल्ल, गोविन्द गोठाले, कृष्णप्रसाद रिमाल सदस्य रहेका थिए । ‘गौरीशंकर नाट्यसमुदायले यो प्रेम पनि मञ्चन भएको थियो । त्यस्तै वि.सं. २००२ मा बालकृष्ण समको ऊ मरेकी छैन विजय मल्लको बहुलाकाजीको सपना नाटकहरू प्रदर्शन गरिएका थिए । गोपालप्रसाद रिमालको ‘मसान’ नाटक थुप्रै पल्ट मञ्चन हुनाका साथै आरोहण नाट्यहरूद्वारा टेलिल्फिम बनेर प्रदर्शन समेत भइसकेको छ । वि.सं. २००७ फाल्गुण २० गते शनिबारका दिन ‘भण्डारखालमा ‘नेपाली नाटक सघं’ को उद्घाटन भयो । गोविन्दप्रसाद पौडेलको अध्यक्ष रहेको संस्थाले बालकृष्ण समका स्वास्नी मान्छे (२००७) प्रेमपिण्ड (२००९) र जस्ता नाट्यकृतिहरू प्रकाशन तथा मञ्चन गरेको पाइन्छ । श्यामदास वैष्णवले त्यतिखेर छायाँनाटक मञ्चन गरे । यो नेपाली नाट्यपरम्परामा नौलो प्रयोग हो । वि.सं. २००९ मा बालकृष्ण समले आफ्नो अध्यक्षतामा ‘नेपाली कला मण्डल’ को गठन गरे । यो मण्डलमा बालकृष्ण सम, गोपीनाथ अर्याल, श्यामदास वैष्णव, जनार्दन सम, हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल आदि गरी करिव पाँच दर्जन जाति कलाकारहरू थिए । यस मण्डलीले सिंहदरबार नाचघरमा बालकृष्ण समद्वारा रचित ऐतिहासिक नाटक अमरसिंह, भीमसेन थापाको अन्त्य, राजेन्द्र लक्ष्मी आदिको सफल प्रदर्शन ग¥यो । यो मण्डलीले भारतको दार्जिलिङ, खस्याङ् आदि ठाउँमा पनि नाटक मञ्चन गरेर त्यो ठाउँका दर्शकबाट प्रशंसा प्राप्त ग¥यो ।

वि.सं. २०१० मा ‘जनकला केन्द्र’ नामक नाट्यसंस्थाको स्थापना फेरि बालकृष्ण सम र गोपीनाथ अर्यालहरू मिली गरे । यो केन्द्रले सिंहदरबार नाचघरमा बालकृष्ण समद्वारा लिखित र गोपीनाथ अर्यालद्वारा निर्देशित नाटक अन्धवेग को सफल मञ्चन ग¥यो । वि.सं. २०१३ मा श्री ५ महेन्द्रको संरक्षणमा ‘राष्ट्रिय नाटक मण्डल’ को स्थापना भयो र केही नेपाली नाटक मञ्चन भयो । गणेशलालले २०१४ सालमा ‘भालेचरो’ नामक डबली नाटक प्रदर्शन गरेर निकै ख्याती कमाएका थिए वि.सं. २०१४ मा श्री ५ महेन्द्रको संरक्षकत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भयो । प्रज्ञा प्रतिष्ठान २०३२ सालदेखि सुरु गरेको नाटक महोत्सव २०६२ सम्म सञ्चालन रहेर स्थगित भयो । सो अवधिमाधेरै नेपाली नाटकहरु मञ्चन भएका छन् । अन्य संघसंस्थाहरुले पनि प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा धेरै नाटक मञ्चन गरेको इहिास छ ।

कला सँस्कृतिको जगेर्ना एवम् प्रवद्र्धन गर्ने उद्देश्यले २०१६ सालमा ‘संस्कृति विभाग’ को स्थापना भयो । नाट्यशाला निर्माणका लागि जमलमा २०१७ सालमा नाचघरको स्थापना भयो । नाचघरले पनि बिभिन्न नाटक मञ्चनसँगसँगै नाटक प्रशिक्षण र अन्य नाट्य गतिविधीहरु सञ्चालन गरिहेको छ । नाचघरले केही समय क्षेत्रिय नाटक प्रतियोगिता सञ्चालन गरेको थियो हाल सो प्रतियोगिता स्थगित भए पनि नाटक महोत्सवहरु भने बेला बखत गरिरहेको छ । अन्य संघसंस्थाहरुले पनि नाटघरको प्रेक्षालयमा धेरै नाटक मञ्चन गरेको इहिास छ ।

वर्तमान अवस्थामा नेपाल सरकारले नाटकको उन्नयन र प्रवद्र्धन तथा नीतिगत संरचनाको महल सहित निम्ति छुट्टै प्रज्ञा प्रतिष्ठानका रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान २०६८ गठन गरेर नाटकको संरक्षण र प्रवर्द्धनसँगै नीतिगत संरचनाहरुको निर्माणको कामहरु गरिरहेको छ । प्रतिष्ठानले बिभिन्न समयमा नाटक महोत्सव, नाट्य गोष्टी लगायत कार्यक्रहरुको आयोजना गरिरहेकोछ । प्रतिष्ठान सातै प्रदेशको प्रदर्शनकारीकलालाई समेटेर सातवटा अनुसन्धानात्मक पुस्तक पनि प्रकाशन गरेको छ ।

४० को दशकपछि नेपालमा नाट्यकर्म गर्ने संस्थाहरुको स्थापना बढ्नेक्रमसँगै नेपाली नाटक मञ्चनले पनि गति लिएको देखिन्छ । त्यस यता धेरै रंगसंस्थाहरुले नेपाली नाटकका क्षेत्रमा काम गरिरहेका छन् । अझै ६० को दशकबाट नेपाली रंगमकर्ममा निजी पहलमा नाटकघरहरु खुल्ने क्रमसँगै नेपाली नाटक मञ्चनले आफ्नो स्वर्ण यात्रा तय गरेको देखिन्छ । नीजि पहलमा खुलेका नाटकघरहरु अशेष मल्लको नेतृत्वमा सर्वनाम थियटरले नियमित नाटक मञ्चन तथा अभिनय कार्यशाला सञ्चालन गरिरहेको छ । सुनिल पोखरेलको नेतृत्वमा रहेको आरोहण गुरुकुल, पुस्कर गुरुङको नेतृत्वमा डबली थिएटर, बिरेन्द्र हमालको अग्रसरतामा स्थापना भएको एमआर्ट थिएटरले पनि विभिन्न नाट्य गतिविधी गरिरहेको छ । अनुप बराल सहितको संलग्नता रहेको एक्टर्स स्टुडियो, विजय विस्फोटको रंग सारथी, सिर्जना सुब्बा सहितको समुहले सञ्चालन गरेको मण्डला थिएटर, आकांक्षा कार्कीको समुहले सञ्चालन गरेको कौशी थिएटर, केदार श्रेष्ठ सहितले सञ्चालन गरिरहेको थिएटर मल, विमल सुवेदी नेतृत्वका थिएटर भिलेज, घिमिरे युवराज सहितको समुहले सञ्चालन गरेको शिल्पी, नेपाली नाटक मञ्चन र नाट्य गतिविधीमा सक्रिय संस्थाहरु हुन् । प्रविण पुमाको समुहले सञ्चालन गरेको सुम्निमा थिएटर एकेडेमी, नवराज बुढाथोकीको नेतृत्वमा शैली थिएटर, रविन तामाङ लगायतको समुहले चलाएको ओजास थिएटरले पनि नियमित नाटक मञ्चन गरिरहेका छन् । पुरु लम्सालको नेतृत्वमा आदिइत्यादि नाट्य समूह नेपाली रङ्गमञ्चमा नेपाली नाटक भन्ने उद्घोषका साथ नाटक मञ्चन तथा नाट्य गतिविधीहरु गरिरहेको छ ।

पछिल्लो अवस्थामा राजधानी बाहिर पनि नाट्य संस्थाहरुले सक्रिय रुपमा नाट्य गतिविधीहरु सञ्चालन गरिरहेका छन् भने नाटकघरहरु खुल्ने क्रम बढेको छ । मिथिला नाट्यकला परिषदले स्थापनादेखि वर्तमानसम्म निरन्तर कार्य गरिरहेको छ । मिनापलाई नेपालकै जेठो नाट्य संस्था मान्न सकिन्छ ।

गणेश गौतमको नेतृत्वमा रहेको वागिना समुह सुर्खेत र आरंग नेपाल सुर्खेत, किशोर अनुरागको नेतृत्वमा मातृभूमी रंगमञ्च भोजपुर, उज्ज्वल शर्माको नेतृत्वमा रहेको तरंग सांस्कृतिक परिवार हेटौँडा, सुरेश पोर्तेलहरुको समुहले सञ्चालन गरिरहेको चतेना नाट्य समुह इलाम,बिष्णु मोक्तान लगायतको सहभागिता रहेको रंगभुमी एकेडेमी धरानले पनि नियमित नाटक मञ्चन र नाट्य गतिविधी गरिरहेका छन् । पोखरामा परिवर्तनको नेतृत्वमा पोखरा थिएटरले गन्धर्व नाटकघर सञ्चालन गरिरहेको छ । पोखरामै कपिल शर्माको नेतृत्वमा युथ क्रियसन थिएटर र केदारमणी पौडेलको नेतृत्वमा इन्द्रेणी थिएटरले नियमित नाटक मञ्चन गरिरहेका छन् । आकाश अधिकारी र समुहले गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँ र केदार बोहोराको समुहले मञ्जरी नाट्य समुह लमजुङ मार्फत नाटक मञ्चन तथा नाट्य गतिविधीहरु सञ्चालन गरिरहेका छन् । कविता नेपालको नेतृत्वमा परिवर्तन थिएटर काँकडभिट्टा, माधव कल्पितको नेतृत्वमा क्षितिज नाट्य समुह झापा, भरत गुरागाईँको नेतृत्वमा झोरहाट नाट्य समुह, चेतन आङथुपोको समुहले सञ्चालन गरेको चुलाचुली रंगमञ्च, जीवन बरालको समेहले सञ्चालन गरेको शब्द थिएटर मोरगं, सोनु जयन्तीको नेतृत्वको कलालय इटहरी, अन्जान प्रदीपको समेहले सञ्चालन गरेको कर्मी समुह चितवनले पनि पछिल्लो समय नाट्यकर्म गरिरहेका छन् । सिजन दहालको नेतृत्वको कदम थिएटर झापा लगायका नाट्यसंस्थाहरु नेपाली नाट्यकर्ममा सक्रिय छन् ।

नाटकको अध्ययन तथा अनुसन्धान कार्य सहित यस क्षेत्रको उन्नयनमा काम गर्ने हेतुले प्रा.डा रामचन्द्र पोखरेलको नेतृत्वमा नेपाल नाट्य प्रतिष्ठान पोखरा गठन भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना र अनुसन्धानमूलक ग्रन्थहरु प्रकाशन गरिरहेको छ ।

दरवारमा र गाईजात्राका अवसरमा विभिन्न नाटकमण्डलीहरूले उपत्यकामा नाटकहरू मञ्चन/प्रदर्शन गर्ने नेपाली नाट्य मञ्चन परम्परालाई तोडेर आम दर्शकसम्म पुग्नु नेपाली रंगमञ्चको पहिलो सफलता थियो । अहिलेको जस्तो विद्युतीय सञ्चारमाध्यमले प्रभाव नपारेको हुनाले मनोरञ्जनका निम्ति भए पनि रङ्गमञ्चमा सबैको आकर्षण थियो । बिभिन्न नाट्य संस्था र ब्यक्तिहरुको पहलमा मञ्चित नाटकले नेपाली नाट्य क्षेत्रमा नेपाली नाटकको गुणात्मकता र सङ्ख्यामा बृद्धि हुँदै गएको पाइन्छ । विभिन्न ठाउँमा नाटकसँग सम्बन्धित विभिन्न संघ संस्था खुल्नु, नाटकघरको निर्माण हुनु र ती नाटकघरले नेपाली नाटकको मञ्चन गर्नु पनि नेपाली नाटकको विकासको आधार हो भन्न सकिन्छ । जहानियाँ राणा शासनको पराजय र नेपाली जनताको विजयले देशमा सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक आदि पक्षको सुधारको सुरुआत ग¥यो । कलाकारहरूले आफूभित्र दवेका प्रतिभाको प्रस्फुटन गर्न थाले ।

जनताले पनि आफ्नो स्वतन्त्रताको भरपूर उपयोग गर्न थालेको त्यो समयमा विभिन्न प्रवृत्तिका नाटक र नाट्यसंस्थाहरूले जन्मने मौका पाए । नेपालको गौरवशाली संस्कृति र कलात्मक परम्पराको निर्वाह र विकास गर्ने र जनताको बौद्धिक आवश्यकता र स्वस्थ मनोरञ्जनको चाहना पूर्ति गर्ने खालको स्वस्थ मनोरञ्जन गर्ने साँस्कृतिक कार्यक्रम तयार गरी महत्वपूर्ण पर्व समारोहमा प्रदर्शनको व्यवस्था गर्ने । साँस्कृतिक कार्यक्रमको लागि पटकथा, रङ्गमञ्च, कलाकार इत्यादिको व्यवस्थापन गर्ने, कार्यक्रमको योजना, निर्माण र प्रदर्शनमा व्यावसायिक दृष्टिकोण अपनाउने सम्मको अवस्था नेपाली रंगमञ्चले झेलेको छ । पछिल्लो नेपाली रंगमञ्चमा नाट्य गतिविधि सञ्चालित छन् । नेपाली संस्कृति, पर्व तथा उत्सवहरूलाई नाटकिय रुपमा प्रस्तुत गर्दै आएको पाइन्छ । नियमितरूपमा टिकटमा सर्वसाधारणलाई नाट्य प्रदर्शन गर्दै आएको बिभिन्न नाट्य संस्थाहरु सक्रिय छन् । विभिन्न अवस्थामा नाटक महोत्सव पनि आयोजना पनि भइरहेका छन् । यसले नेपाली रंगकर्म फस्टाउँदै गएको छ र व्यवसायिक रंगकर्म निर्माणको एउटा चरणमा पुगेको छ ।

सम हुँदै अहिलेको अवस्थासम्म आइ पुग्दा नेपाली रंगकर्मले बिभिन्न चरणहरु पार गरेको छ । लेखनका हिसाबले पनि केही फरक किसिमका नाटकहरु लेखिएका छन् भने मञ्चनका हिसावले नेपाली रंगमञ्चले ठूलो फड्को मारेको छ । परम्परागत नाट्य तथा रङ्गमञ्चीय मान्यताहरूको भञ्जन गर्नु पनि नेपाली नाटक र रंगकर्मको अर्को मूलभूत विशेषता हो । रङ्गमञ्चीय प्रयोगमा सडक नाटक तथा शून्यवादी रङ्गमञ्चको खोजी पनि यस कालखण्डमा गरिएकोे अर्को अभ्यास हो । समग्रमा हेर्दा पछिल्लो समय नेपाली नाटकको रंगमञ्चिय स्थिति सुखद् देखिन्छ । नेपाली रंगमञ्चमा मञ्चित नाटकले मूलभुत रुपमा केही वैचारिक पक्षहरुको गहन उठान गरेका छन् । चरणगत रुपमा वा वादगत रुपमा हेर्ने हो यथास्थितिवादी धार, परिस्कारवादी धारा प्रगतीवादी धारा, विसङ्गतवादी धारा हुँदै शून्यवादी धारासम्मको बैचारिक पक्ष निर्माण भएको पाइन्छ । नेपाली रंगमञ्चको चौतर्फी विकासमा तथा नाटक मञ्चनमा परम्पराहरुलाई निर्देश गर्दै कलाको प्रदर्शन गरेर आत्मनिर्भरसम्म पनि बन्न सकिन्छ भन्ने बाटोमा नेपाली रंगकर्म अग्रसर भएको छ । नेपाली नाटक मञ्चनको परम्परा अहिलेको अवस्थासम्म आइपुग्दा पनि खासै लिपिबद्ध भएको पाइँदैन र यस विषयमा अनुसन्धानको पक्षमा काम पनि भएको देखिँदैन । पछिल्लो समय नेपालमा काठमाण्डौ र अन्य जिल्लामा पनि नाट्य संस्था र नाटकघर खुल्नेक्रम जारी छ । यो नेपाली नाटकको लागि राम्रो संकेत हो तर खुलेका नाटकघरहरुले कति नेपाली नाटकको खोज अनुसन्धान गर्न सक्छन् र कति नेपाली नाटक नेपाली रंगमञ्चमा मञ्चन हुन सक्छन् भन्ने कुराले अर्थ राख्छ ।

०००

लम्साल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुनुहुन्छ ।
purulamsal@gmail.com

अन्य समाचार

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न

कामकुराे सडकनाटक प्रदर्शन हुँदै

उडिसामा ‘अभिनद्ध’